नुवाकोट – काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न बनाइएको स्थान सिसडोलको ल्यान्डफिल साइटमा अर्को भयानक जोखिमको खतरा बढेको छ । उक्त खतरापछि स्थानियहरु समेत त्रसित बनेका छन् ।
ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ । चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टका वैज्ञानिकहरूको टोलीले काठमाडौं महानगरपालिकालाई दिएको रिपोर्टमा सो सम्भावना रहेको उल्लेख छ ।
वैज्ञानिक डा. भोजराज पन्तको टोलीले तयार गरेको रिपोर्टमा सिसडोल ल्यान्डफिल साइटको दक्षिण क्षेत्रबाहेक सबै क्षेत्रबाट ग्यास बाहिरिन नसकेको कारण विस्फोट भएर आगलागी हुने सम्भावना रहेको उल्लेख छ । फोहोर व्यववस्थापन गर्न नसक्दा फोहोर गुम्सेर बनेको मिथेन ग्यास खतरनाक बनेको हो ।
ग्यास बाहिरिन पाइप (भेन्स) राख्नुपर्नेमा अधिकांश क्षेत्रमा सो पाइप नराखेको देखिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोरको दुर्गन्ध हटाउने उपाय खोज्न र दुर्गन्धको मापन गर्न नास्टलाई आग्रह गरेपछि नास्टको वैज्ञानिक टोली सिसडोल ल्यान्डफिल साइट पुगेको थियो । शनिबार अनुसन्धान गरेर फर्केको टोलीले सोमबार कामपालाई रिपोर्ट बुझाएको थियो ।
रिपोर्टअनुसार तत्काल ग्यास बाहिर जाने व्यवस्था गर्न आग्रह गरिएको छ । त्यस्तै फोहोर विसर्जन गरेपछि सो फोहोरलाई माटोले पुर्नुपर्ने, फोहोरको लेदो (लिचेड) व्यवस्थित गर्नुपर्ने, फोहोर विसर्जन गर्नुअघि केमिकलले स्प्रे गर्नुपर्ने, मिथेन ग्यासको सम्भावित दुर्घटनाबाट जोगिन समुदायलाई सचेत गराउनुपर्ने लगायत सुझाव दिइएको छ ।
यसैबीच कामपाले प्रहरी परिचालन गरेर फोहोर विसर्जन गर्न शुरू गरेको छ । करिब २ सयको संख्यामा रहेका प्रहरीको टोली बन्चरेडाँडा ल्यान्डफिल साइट र सवारी साधन आउने बाटोमा परिचालन गरिएको छ । प्रहरी वृत्त वालाजुका प्रहरी सहायक उपरीक्षक (डीएसपी) गौतम मिश्रको नेतृत्वको टोलीले आन्दोलनकारीलाई पक्राउ गरेको थियो ।पक्राउ गर्नेक्रममा दुईतर्फी झडप भएको थियो ।
घर–घरबाट प्रहरी टोलीलाई ताकेर ढुंगा हान्न थालेपछि प्रहरीले घर–घरमा पुगेर आन्दोलनकारीलाई पक्राउ गरेको थियो ।स्थानीय जन प्रतिनिधिसँग सोमबार राती शहरी विकास मन्त्रालयलमा सहमति भएलगत्तै हिजो मंगलबार बिहानदेखि फोहोर बोकेको सवारी साधन ल्यान्डफिल साइटतर्फ गएको थियो ।
स्थानीयले बाटो बन्द गरी फोहोर बोकेका सवारी साधनलाई बाटैमा रोकेपछि सरकारले प्रहरी परिचालन गरेको हो । करिब एक महिना अघि पनि यसै गरी प्रहरी परिचालन गरी फोहोर विसर्जन गरिएको थियो ।
सुरक्षाटोलीको घेरामा मंगलबार साँझ ५ बजेसम्म मात्र फोहोर विसर्जन गरिएको थियो । प्रहरीले चारबजेदेखि तीनपिप्लेबाट फोहोरको गाडी फिर्ता पठाएको छ । तीन पिप्लेबाट ल्यान्डफिल साइटसम्म पुगेका सवारीलाई फोहोर खसाल्ने दिएको थियो ।
साँझ परेपछि आन्दोलनकारीले सवारी साधनमा तोडफोड गरी बाटो अवरोध गर्न सक्ने भन्दै प्रहरीको आग्रहमा साँझ साढे ५बजेसम्म मात्र फोहोर विसर्जन गरिएको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।





















