काठमाडौं – स्थानिय तहको चुनाव सकिएपछि राष्ट्रिय राजनीतिमा तरंग पैदा गरेको छ । स्रोतका अनुसार देउवा सरकार ढाल्ने सम्भावनाबारे छलफल र बहस सुरु भएको हो ।
विगत केही दिनयता सरकार परिवर्तन हुने कुरा व्यापक रुपमा चलिरहेको छ जसले गर्दा पूरै राजनितिक वृत्तमा तरंग नै आएको छ । के यो सरकार अर्थात् देउवाले नेतृत्व गरिरहेको पाँच दलीय गठबन्धनको सरकार ढाल्न संवैधानिक बाटो छ त ?
केही दिनयता नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुलाई बारम्बार प्रधानमन्त्री बन्नका लागि अफर आइरहेको बताउँदै आएका छन् । यस्तै, हिजो मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि आफुलाई प्रधानमन्त्री बन्न विभिन्न नेताहरुले सुझाइरहेको दाबी गरे ।
सञ्चार माध्यममा आएको कुरालाई नै आधार मान्ने हो भने प्रचण्ड र नेपाललाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नका लागि प्रस्ताव गरेको बुझिन्छ ।
यो सरकार धारा ७६ ९५० अन्र्तगत बनेको सरकार हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको भनाइ अनुसार संसदले सरकार बनाउनका लागि संविधानले दिएको सबै धारा प्रयोग गरिसकेको हुनाले यो सरकार कुनै पनि हालतमा परिवर्तन हुन नसक्ने बताए ।
तर, संसदमा बजेट पास नभएको खण्डमा भने यो सरकारलाई गम्भीर राजनितिक र संवैधानिक दुवै किसिमको जटिलता आउन सक्ने त्रिपाठीको भनाइ छ । पछिल्लो समय प्रचण्डले दिएका अभिव्यक्तिले राजनीतिमा केही पाकिरहेको संकेत गरेको छ । यद्यपि प्रचण्ड पाँचदलीय गठबन्धनलाई टिकाएरै जानुपर्ने बताइरहेका छन् ।





















