बालेन्द्रलाई जिताउने टिमले थाल्यो संसदीय चुनावको ‘होमवर्क’

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय सामाजिक सञ्जालमा चिरपरिचित नाम हो। स्थानीय चुनावपछि उपाध्यायको घरमा यतिबेला एकाएक भीडभाड बढेको छ।

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाहलाई जिताउने ‘सोसियल इञ्जिनियरिङ’ मा लागिपरेका पूर्वसचिव उपाध्यायको ध्यान अब आसन्न संसदीय चुनावमा स्वतन्त्र युवालाई जिताउनेतर्फ केन्द्रित भएको छ।

आगामी संसदीय चुनावमा काठमाडौं क्षेत्र नम्बर १ बाट कांग्रेस नेता प्रकाशमान सिंह गठबन्धनको साझा उम्मेदवार बन्ने लगभग ‘ओपन सेक्रेट’ विषय हो। तर, ०७४ को चुनावमा रवीन्द्र मिश्रसँग मुस्किलले जितेका सिंहले आगामी चुनावमा बालेन्द्र शाहको टिमसँग सामना गर्नुपर्ने चुनौती बढेको छ। बालेन्द्र जिताउने टिमले काठमाडौं १ का लागि स्वतन्त्र उम्मदेवारको खोजी शुरु गरेको छ।

काठमाडौं क्षेत्र नम्बर २ पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको निर्वाचन क्षेत्र हो। एकीकृत समाजवादीका अध्यक्ष रहेका नेपाल आफ्नो गृहजिल्ला रौतहट गएनन् भने काठमाडौं २ बाटै उठ्ने सम्भावना छ। तर, त्यहाँ पनि बालेन्द्रलाई जिताउने टिमले स्वतन्त्र उम्मेदवारको खोजी गरिरहेको स्रोतको भनाइ छ ।

बालेन्द्रलाई जिताउने टिमले चासो राखेको अर्को क्षेत्र काठमाडौं–४ हो। यो निर्वाचन क्षेत्रबाट गठबन्धनको साझा उम्मेदवारका रुपमा कांग्रेसका गगन थापा उठ्ने लगभग निश्चित छ। तर, यहाँ पनि बालेन्द्रलाई सघाएको टिमले स्वतन्त्र उम्मेदवार खोजिरहेको स्रोतले नेपाल खबरलाई बतायो।

त्यस्तै नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौं–५ हो। यो विवेकशील पार्टीका संस्थापक स्व. उज्वल थापाको घर भएको क्षेत्र हो। विगतको चुनावमा थापाले यही क्षेत्रबाट चुनाव लडेका थिए। कोभिडका कारण मृत्यु नभएको भए उज्वजल यसपटक ईश्वर पोखरेलसँगै चुनाव लड्ने सम्भावना थियो।

स्वतन्त्र जनमत राम्रो भएका कारण काठमाडौं ५ मा पनि यसपालि बालेन्द्र समर्थित समूहले स्वतन्त्र उम्मेदवार उठाउने तयारी गरिरहेको स्रोतले बतायो। यो क्षेत्रमा एमालेका ईश्वर पोखरेल र कांग्रेसका डा. प्रकाशरण महतबीच विगतमा प्रतिस्पर्धा हुँदै आएको थियो।

स्थानीय चुनावमा बालेन्द्रलाई भित्री सहयोग गरेको स्रोतले नेपालखबरसँग भन्यो, ‘स्थानीय चुनावमा बालेनलाई स्वस्फूर्तरुपमा सघाएको टिमले काठमाडौंका लागि युवा पुस्ताका चर्चित स्वतन्त्र उम्मेदवारको खोजी गरिरहेको छ। र, यो अभियानमा पूर्वसचिव भीम उपाध्यायको पनि सहभागिता छ। यही कारण उपाध्यायको घरमा भीड बढेको छ।’

यसै सन्दर्भमा हामीले पूर्वसचिव भीम उपाध्यायसँग छोटो कुराकानी गरेका छौं–

बालेन्द्रलाई चुनाव जिताएको भन्दै तपाईको घरमा अचेल मानिसहरुको भीडभाड बढेको छ रे, गुल्मीका जनप्रतिनिधिले पनि तपाईलाई भेटेछन् हैन ?
(हाँस्दै) आइराखेका छन्। मेरो जन्मस्थल पनि गुल्मी हो। त्यहाँका जनप्रतिनिधिहरु काठमाडौं आएका रहेछन् अनि मसँग भेट गरेका हुन्।

तपाईलाई भेट्न आउनेहरुलाई कस्तो सल्लाह दिइरहनुभएको छ त ?
अब युवाहरु अगाडि बढ्नुपर्छ। दलहरुमा पनि अब युवाहरु नै अगाडि आउनुपर्छ। अहिले दल भन्दा पनि अनुहारलाई भोट हाल्छन् भन्ने देखियो। त्यसैले दलहरुले युवालाई टिकट दिएनन् भने हार्छन् भन्ने मेरो धेरै पहिलेदेखिको आवाज हो र त्यो अहिले देखियो पनि।

स्थानीय चुनावबाट पाठ सिकेनन् भने ठूला पार्टीका ठूला नेताहरु आगामी संसदीय चुनावमा काठमाडौंबाट हार्ने खतरा बढेको हो ?
अब देशभरि त्यस्तै हुन्छ। उनीहरु लागेका छन्। स्वतन्त्र भनेपछि उनीहरु कसैको नियन्त्रणमा हुँदैनन्। जनतासित भिजेका, पेशा गरेर पेट पाल्न सक्ने अलि पढेलेखेका सशक्त उम्मेदवारहरु देखिए भने हामीले तिनलाई समर्थन गर्ने भन्ने छ क्या साथीहरुमा।

बालेन्द्र शाहको चाहिँ भूमिका कस्तो होला ?
बालेनजीसित कुरा भएको छैन। उहाँले पनि अन्तिममा पार्टीलाई त केही गर्नुहुन्न होला। तर, उहाँलाई समर्थन गर्नेहरु पनि छ छन् नि। म त देखिने गरी फिल्डमा खटिएको होइन, खाली सोसल मिडियामात्रै हो। तर, उहाँलाई सहयोग गर्नेहरुलाई उहाँले पनि सहयोग गर्न सक्नुहुन्छ। तर, उहाँसँग यस विषयमा कुरा भएको छैन।

लौरो चिह्न लिएर नयाँ पार्टी नै खुल्ने सम्भावनाचाहिँ छ कि छैन ? केही इञ्जिनियरहरु पार्टी खोल्न लागिरहेका छन् भन्ने पनि सुनिन्छ नि ?
खोल्न त खोल्छन् होला। लागिराखेका छन्। कसैले दर्ता पनि गरिसकेको पनि देखिन्छ। तर, पार्टी खोलेपछि उही पार्टी त हो नि भन्लान् भन्ने मलाई लाग्छ। समानुपातिकको लोभ हो त्यो। किनभने अहिलेका युवाहरु लाग्दाखेरि समानुपातिक पनि राम्रै मत आउँछ भन्ने पनि आइराखेको छ। तर, मसित त यो खास सरोकारै भएन। म आफ्नै तरिकाले जाँदैछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...