काठमाडौँ – मेयर शाहको पहिलो निर्णय सुनेपछि नेताहरु अचम्ममित परेका छन्। राजनीतिक दलहरुले जहिले पनि बन्द कोठामा निर्णय गर्ने भएकाले बलेन क्रमभङ्ग गरिदिएका छन्। अब सर्वसाधारण जनताले पनि निर्णय गर्दा लाइभ हेर्न पाउने छन्।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाकाे बैठक लाइभ गर्ने निर्णय गरेका छन्। सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उनले दिउँसो ४ बजे नगर कार्यपालिकाकाे बैठक बोलाउने र बैठक लाइभ गर्ने निर्णय गरेका हुन्।
पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले आफूले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने बताएका छन्। त्यस्तै, नगर उपप्रमुख सुनिता डंगोलले पनि पदभार ग्रहण गरेकी छिन्।
पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। आज अपरान्ह ४ बजे नगरकार्यपालिकाको बैठक बस्ने र त्यसको लाइभ प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।
यसअघि नै चुनावी प्रचार प्रसारका दौरान साहले मेयरमा निर्वाचित भएपछि नगरकार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने बताएका थिए।१६२ जना नगर कार्यसमिति रहेको काठमाडौं महानगरपालिकामा १६० जना मात्र निर्वाचित भएका छन्।
वडा नम्बर २४ र २५ को दलित महिला सदस्यमा उम्मेदवारी नपरेपछि उक्त पद रिक्त छन्। काठमाडौंको फोहोर व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता भएको पनि उनले स्पष्ट पारेका छन्। उनले सिसडोलवासीलाई बस्ने राम्रो वातावरण नभएसम्म अरु काम नगर्ने पनि बताए।
त्यस्तै, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सहमति, सहकार्य र सहअस्तित्वको अवधारणामा रहेर नगरवासीको हितमा काम गर्ने बताएकी छिन्। शपथग्रहणपछि सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उनले मेयर बालेन्द्र साहसँग सहकार्यमा काम गर्ने बताइन्।
उनले आफूलाई कानुनले दिएको अधिकार प्रयोग गरेर नगरवासीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। ‘उपमेयरलाई कार्यकारी अधिकार छैन। कानुनले दिएको अधिकार प्रयोग गरेर नगरवासीको हितमा काम गर्नेछु,’ उनले भनिन्।
त्यस्तै, काठमाडौं महानगरपालिकामा १६ प्रतिशतभन्दा बढी मत बदर भएको छ।स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा ३१ हजारभन्दा बढी मत बदर भएको छ ।
महानगरका तीन लाख दुई सय ४२ मतदातामध्ये ६३.६० प्रतिशत अर्थात् एक लाख ९० हजार नाै सय ५६ मत खसेको थियो । जसमध्ये ३१ हजार ४१ अर्थात् १६.२६ प्रतिशत मत बदर भएको हो ।
महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार सात सय ६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मत प्राप्त गरेकी छिन् ।
एमालेका केशव स्थापित ३८ हजार एक सय १७ मतसहित तेस्रो भए। त्यस्तै, स्वतन्त्रका सुमन सायमीले १३ हजार सात सय ७०, राप्रपाका मदनदास श्रेष्ठले पाँच हजार सात सय ७० र विवकेशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले ६ सय ४७ मत प्राप्त गरिन्।
उपमेयरमा एमालेकी सुनिता डंगोल ६८ हजार ६ सय १२ मत प्राप्त गरी विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८६ मत प्राप्त गरे ।
स्वतन्त्रकी विद्या श्रेष्ठले १३ हजार ६ सय १५, राप्रपाकी विनिता मगैयाले १२ हजार एक सय ४१, स्वतन्त्रकी बेन्जीसिंह महर्जनले ६ हजार पाँच सय ५५, विवेकशील साझाकी कृति कंसाकारले दुई हजार पाँच सय ९० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।





















