बागलुङ – जिल्ला प्रहरी कार्यालय बागलुङले प्यूठान घर भएकी देवी केसीलाई २५० किलो सुनाखरी जडीबुटीसहित पक्राउ गरेको छ ।
बागलुङका प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीले शुक्रबार राति ८ बजे केसीलाई मालढुंगाबाट चेकजाँचका पक्राउ गरिएको बताएका छन् । उनले भने, ‘विशेष सूचनाका आधारमा मालढुंगामा चेकजाँच गरेर प्रहरीको टोलीले सुनाखरी र महिलालाई पक्राउ गरेको छ ।’
प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका– ३ स्थायी घर भएकी केसीलाई फरक–फरक तौल भएका १० बोरा जडीबुटीसहित पक्राउ गरेको एसपी ज्ञवालीले बताएका छन् ।
महिलालाई शंकास्पद अवस्थामा फेला पारेर बोरा खानतलासी गर्दा खैरो रंगको सुनाखरी जस्तो देखिने जडीबुटी फेलापरेपछि नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेकी केसीले प्रारम्भीक बयानमा बरामद भएको खैरो रंगको जडीबुटी सुनाखरी रहेको उल्लेख गरेको बागलुङका प्रहरी प्रमुख एसपी ज्ञवालीले बताए ।
बरामद भएको सुनाखरीको बजार मूल्य प्रतिकिलो अन्दाजी ४० देखि ५० हजार पर्ने अनुमान छ । प्रतिकिलो ४०,००० रुपियाँका दरले पनि २५० किलो सुनाखरीको मूल्य १ करोड पर्छ ।
स्थानीय तहको निर्वाचनको मौका छापेर जडीबुटी तस्करी हुन लागेका बेला बागलुङ प्रहरीले ठूलो परिमाणमा सुनाखरी बरामद गरेको छ ।
पक्राउ परेकी केसीलाई जडीबुटीसहित जिल्ला बन कार्यालय बागलुङलाई आवश्यक कारबाहीका लागि पठाउने तयारी भएको विज्ञप्तिमा उल्लेख छ ।