काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको पाँचौं कार्यकालमा एउटा महत्वपूर्ण कार्य हुने भएको छ । सधै नेपाल उपेक्षामा राख्दै आएको अमेरिकाबाट देउवाले उच्चस्तरीय भ्रमण गराउन सफल भएका हुन् ।
शक्तिशाली राजा महेन्द्र शाह र शक्तिशाली प्रधानमन्त्री केपी ओलीको पालामा समेत हुन नसकेको उच्चस्तरीय भ्रमण देउवाको पालामा हुन लागेको हो । देउवाले इतिहासमै पहिलोपटक अमेरिकी विदेशमन्त्रीलाई नेपालमा स्वागत गर्दैछन् ।
यसअघि सहायक विदेशमन्त्री र उपसहायक विदेशमन्त्री नेपाल आएको भए पनि विदेशमन्त्री स्तरमै अमेरिकाबाट नेपाल भ्रमण भएको छैन । यो ग्यापलाई तोड्दै देउवा सरकारले विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई नेपालमा स्वागत गर्न लागेको हो ।
परराष्ट्र मन्त्रालयले नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध कायम भएको ७५औं वर्षगाँठका उपलक्ष्यमा अमेरिकाबाट उच्चस्तरीय भ्रमणको गृहकार्य भइरहेको जनाएको छ ।
परराष्ट्र प्रवक्ता सेवा लम्सालले केही दिनअघि पत्रकार सम्मेलन गरेर भ्रमणको तयारी भइरहेको जानकारी दिएकी छन् । परराष्ट्र अधिकारीहरुका अनुसार चुनावलगत्तै विदेशमन्त्री ब्लिन्केनलाई काठमाडौंमा स्वागत गर्ने तयारी भइरहेको छ ।
विश्वकै महाशक्ति राष्ट्र अमेरिकाबाट विदेशमन्त्री नेपाल आए यो ऐतिहासिक हुनेछ । देउवाको पालामा भ्रमण सम्पन्न भएको भनेर इतिहासमा लेखिनेछ ।