काठमाडौं – दोलखाको बैतेश्वर गाउँपालिको उपाध्यक्षमा उम्मेदवारी दिएका नेपाली कांग्रेस दोलखा जिल्लाका पूर्वउपसभापति छबी लामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
कांग्रेसबाट गाउँपालिका अध्यक्षको टिकटका दाबेदार लामाले अन्तिममा टिकट नपाएपछि उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।
एमालेले उनको स्वतन्त्र उम्मेदवारीलाई समर्थन जनाउँदै पार्टीबाट उम्मेदवारी दिएकी नविना लामालाई फिर्ता बोलाएको छ ।
कांग्रेस नेता लामा एमाले प्रवेश गरेपछि उनलाई एमालेले उपाध्यक्षमा सहयोग गर्ने र एमाले उम्मेदवारले मनोनयन फिर्ता लिने सहमति भएको एमाले दोलखा जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरले बताए ।
लामालाई एमाले पोलिटब्यूरो सदस्य पार्वत गुरुङ, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठलगायतले पार्टीमा स्वागत गर्दै एमालेको आधिकारिक उपाध्यक्ष उम्मेदवार घोषणा गरेका हुन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट काठमाडौं महानगरको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएकाहरूको उम्मेदवारी खारेज भएको छ ।
प्रमुख र उपप्रमुखमध्ये एक जना महिला हुनुपर्ने भए पनि लोसपाले दुवै पदमा पुरुषलाई उम्मेदवार बनाएको थियो । लोसपाबाट प्रमुखमा डानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्कीले उम्मेदवारी दिएका थिए ।