काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले राजनीतिमा नाताभन्दा योग्यतालाई हेर्नुपर्ने बताएकी छन्।
नेपाल महिला संघ काठमाडौँ जिल्ला कार्यसमितिले काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहको निवास चाक्सीबारीमा आयोजना गरेको कार्यक्रममा बोल्दै आरजुले राजनीतिमा नातालाई भन्दा योग्यतालाई हेर्नुपर्ने बताएकी हुन्।
कांग्रेस पार्टीले हरेक कुरामा छलफल र बहस गरेर निर्णय गर्ने बताउँदै पार्टीको साझा उम्मेदवार सिंह भएको भन्दै जिताउन काठामाडौँका जनतालाई आग्रहसमेत गरिन्।
नेपालको मुटु काठमाडौँमा महिलाले नगरप्रमुखको उम्मेदवार पाउनु खुसीको कुरा भएको बताउँदै आरजुले भनिन्, ‘राजनीतिक परिवारको व्यक्ति सिर्जनाले काठमाडौँ महानगरपालिकालाई राम्रो व्यवस्थापन गर्ने विश्वास लिएको छु।’
कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले महानगरको मेयरजस्तो कार्यकारी पदमा महिलालाई उम्मेदवार बनाउनु सम्पूर्ण महिलाप्रतिको सम्मान भएको बताइन्। काठमाडौँ महानगरपालिकी उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले आफूले काठमाडौँमा सुरुदेखि महिला प्रमुख हुनुपर्छ भन्ने विचार राख्दै आएको बताउँदै आफ्नै पार्टीले महिलालाई टिकट दिएर राम्रो काम गरेको बताइन्।
नेपाल महिला सङ्घ काठमाडौँकी अध्यक्ष विष्णुदेवी पुडासैनी, नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कल्याणी रिजाल, कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति नीलकाजी शाक्यलगायतले काठमाडौँ महानगरपालिकाको मुहार फेर्नका लागि सिंहलाई विजय गराउनु आवश्यक रहेको बताएका थिए।