काठमाडौ – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सत्ता गठवन्धनको सहमति विपरित वागी उम्मेदवार दर्ता गराउने नेताहरु कारवाहीमा पर्ने भएका छन् ।
गठबन्धनमा तालमेल नभएपछि भरतपुर महानगरपालिका पोखरा महानगरपालिकामा कांग्रेसका वागी उम्मेदवार उठेका छन् । कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र भन्दै वागी उम्मेदवार दिएका छन् ।
त्यसैगरी, कांग्रेसले प्रमुख छाडेको काभ्रेका दुई पालिका र उपप्रमुख छाडेको पाँचखाल नगरपालिकामा कांग्रेस नेताले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । धुलिखेल नगरपालिकाका नगर सभापति विदुर बस्नेतले नै गठबन्धनका उमेदवारविरुद्ध स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।
आफूहरु बागी उमेदवार नभई कांग्रेसको आधिकारिक उम्मेदवार भएको बताएका उनीहरुले पार्टीले बीपीको विचारलाई तिलाञ्जली दिएको आरोप लगाएका छन् । तर पार्टीले भने स्वतन्त्र उठेका सबैलाई चेतावनी दिने त्यसपछि कारबाही गर्ने तयारीमा लागेको छ ।
कांग्रेसको विधानमा बागी उमेदवारलाई कारबाही गर्नेसम्बन्धी स्पष्ट व्यवस्था रहेको छ । कांग्रेसले पार्टी विधानको धारा ३४ १ (घ) मा ‘पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उमेदवार भएमा वा त्यस्तो उमेदवारको प्रस्तावक वा समर्थक भएमा वा निर्वाचनको समयमा पार्टीको उमेदवारका विरुद्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विरोध गरेमा वा असहयोग गरेमा’ कारबाही हुने उल्लेख गरेको छ ।
अहिले देश भरबाटै वागी उम्मेदवारको संख्या संकलन गर्ने कार्य भइरहेकोले फिर्ता नलिनेलाई अनुशासन समितिले आवश्यक कारबाही गरिने पार्टी कार्यालयले जनाएको छ ।
३४ ८ (घ) मा ‘अनुशासन भंग गर्ने निकाय वा पदाधिकारी वा सदस्यमाथि कारबाही वा जिल्ला वा प्रदेश अनुशासन समितिको निर्णयमा पुनरवेदन निर्णय गर्दा नियमावली र आचारसंहिताअनुसार कसुर हेरी सम्झाउने, चेतावनी दिने, निलम्बन वा
निष्कासन गर्ने । त्यस्तो कारबाही गर्दा आफ्नो सफाइ दिने मौकाबाट कसैलाई पनि वञ्चित गरिने छैन’ साथै ८ ( ङ) ‘निलम्बन गर्दा बढीमा एक वर्ष र निष्कासन गर्दा बढीमा पाँच वर्षका लागि गर्न सकिने’ व्यवस्था रहेको छ ।
वैशाख १६ गते ५ बजेभित्र उमेदवार फिर्ता नलिए बागी उमेदवारलाई साधारण सदस्य पनि नरहेन गरी कारबाही गर्ने विधानको अधिकार भएकाले सोहीबमोजिम पार्टीले कठोर निर्णय केन्द्रले जनाएको छ ।