काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई तिहाइ नयाँ मतदाताले एमालेतर्फ झुकाव राख्ने दाबी गरेका छन् । सम्पर्क समन्वय समितिले
आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले एमाले अध्यक्ष ओलीले राष्ट्र निर्माणको पक्षमा लिएको अडानका कारण युवा पुस्तामा झुकाव बढेको बताए ।
‘हामीले एउटा सर्वेक्षण गर्दा नयाँ मतदातामध्ये ६६ प्रतिशतको युवाको झुकाव एमालेतर्फ भएको भेट्यौं’ पोखरेलले भने, ‘यो त्यसै भएको होइन ।
अध्यक्ष ओलीले राष्ट्र निर्माणको पक्षमा गर्नुभएको अडानले त्यस्तो भएको हो । आइ लभ यु केपी बा भनेर त्यसै भनेका होइनन् ।’ निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनावमा ३६ लाख नयाँ मतदाता थपिएका छन् ।
कार्यक्रममा नेता पोखरेलले ५ वर्षअघि एमालेले ४२ प्रतिशत स्थानीय तह जितेकोमा यस पटक त्यसभन्दा बढी स्थान जित्ने पनि दाबी गरे । उनले एमालेको विभाजनबाट बाहिरिएका भन्दा नयाँ प्रवेशीको संख्या बढेको पनि बताए ।
कार्यक्रममा महासचिव पोखरेलले नेकपा विभाजनका लागि मात्रै माधवकुमार नेपाल र पुष्पकमल दाहालले ‘एक व्यक्ति, एक पद’को विषय उठाएको बताएका छन् ।
‘एक व्यक्ति एक पदको नारा नेकपा विभाजनका लागि मात्रै ल्याइएको थियो भन्ने अहिले पुष्पकमल दाहाल र माधवकुमार नेपालले पार्टी तथा संसदीय दलको नेतृत्व गरेको कुराले प्रमाणित गरेको छ’ पोखरेलले भने । उनले नेपाल र दाहाल बाहेक सबैलाई एमालेमा स्वागत गर्न तयार रहेको भन्दै आह्वान समेत गरेका थिए ।