बालेनको समर्थनमा उत्रिए रवि लामिछाने, यति गरिए बालेनले जित्ने सम्भवना ह्वात्तै बढ्ने दाबी

काठमाडौं – चर्चित सञ्चारकर्मी रवि लामिछानेले काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको खुलेरै समर्थन जनाएका छन् । उनले त्रिपक्षीय भिडन्त गराए बालेनले जित्ने दाबी गरेका हुन् ।

कांग्रेस र एमालेबाहेकका दल र उम्मेदवारले बालेनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन उनको आग्रह छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफ्नो पक्षधरता खुलाएका हुन् । चुनावमा कांग्रेस एमाले र बालेन शाहबीच त्रिपक्षीय भिडन्त हुनुपर्ने उनले बताएका छन् ।

लामिछानेले लेखेका छन्, ‘ठूला दल कांग्रेस र एमाले एकातिर अनि विकल्प भन्दै वा खोज्दै राजनीति गरिरहेका अन्य दल र व्यक्तिहरु अर्कातिर। जनताको म्यासेज क्लियर कट रूपमा देखिनका लागि पनि काठमाडौँमा कांग्रेस र एमालेबाहेकका दल र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उम्मेदवार बालेन शाहलाई समर्थन गरी त्रिपक्षीय भिडन्तका लागि मैदान खाली गरिदिन हुन म व्यक्तिगत रुपमा अनुरोध गर्दछु।’

यस्तै यता बालेन शाहको समर्थनमा कलाकारले आफ्नो सामाजिक सञ्जाल रंग्याएका छन्। चुनावको घोषणा भएसँगै मेयरमा उठ्ने भनेर विभिन्न प्रचार गर्दै आएका बालेनले उम्मेदवारी दर्ता गराएका छन्।

उनले उम्मेदवारी दर्ता गरेसँगै आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरे। बालेनले सार्वजनिक गरेको घोषणा पत्रको प्रशंसा गर्दै कलाकारले उनलाई भोट दिन अपिल गरेका छन्। अभिनेत्री प्रियंका कार्कीले बालेनले सार्वजनिक गरेको घोषणा पत्रको सारांश राख्दै उनलाई भोट दिन आग्रह गरेकी छिन्।

गायक हेमन्त शर्माले बालेनसँगको तस्बिर शेयर गर्दै ‘काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार, लोकप्रिय गायक बालेन शाहको गीत सुन्दा जति मजा आउँछ, काठमाडौं विकासको तर्क सहितको योजना सुन्दा पनि त्यति नै मजा आउँछ।’

यता निर्देशक दीपेन्द्र के खनालले बालेनलाई भोट दिन आग्रह गर्दै उनको घोषणा पत्र पोष्ट गरेका छन्। निर्देशक निश्चल बस्नेत, गायिका इन्दिरा जोशी, नायिका स्वस्तिमा खड्का लगायतका कलाकारले सामाजिक सञ्जाल मार्फत बालेनलाई भोट दिन अपिल गरेका छन्। बालेनले आफ्नो चुनावी घोषणा पत्रमा नेपाली फिल्म क्षेत्रलाई समेत जोडेर महानगरको विकास गर्ने योजना अगाडि सारेसँगै कलाकार उनको पक्षमा देखिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...