काठमाडौं – भरतपुर महानगरपालिकामा कांग्रेसका तर्फबाट बागी उम्मेदवारी परेको छ ।
गठबन्धन गर्दा भरतपुरको प्रमुख (माओवादी केन्द्र)को भागमा परेपछि कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
गठबन्धनबाट माओवादीकी रेनु दाहाल आधिकारिक उम्मेदवार बन्दैछिन् ।
उम्मेदवारी दर्ता गराउन कांग्रेस चितवनका पूर्व सभापतिहरू कृष्णलाल सापकोटा, टीकाराम न्यौपाने लगायत निर्वाचन कार्यालय पुगेका थिए ।
यस्तै चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले मनोनयन दर्ता गराएका छन् ।
एमाले जिल्ला पार्टी कार्यालय भरतपुरबाट बाजागाजा र फूलमालासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका नेता सुवेदीले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा एमाले पोलिट्ब्यूरो सदस्य देवी ज्ञवाली र सर्मथकमा एमालेका सांसद कृष्णभक्त पोखरेल रहेका छन् ।
उम्मेदवारी दर्ता गराउनु अघि उनले एमाले पार्टी कार्यालय भरतपुरमा रहेको मदन भण्डारीको शालिक र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा रहेको वीपी कोइरालाको शालिकमा फूलमाला चढाएका थिए ।
उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँग कुराकानी गर्दै मेयर उम्मेदवार सुवेदीले भरतपुर महानगरको योजनावद्ध विकासका लागि आफ्नो जित आवश्यक रहेको बताए ।
उनले महानगरको विकासको स्पष्ट खाका तयार गरेर यसलाई विश्वकै उत्कृष्ट शहरहरुको दाँजोमा लैजाने आफ्नो योजना रहेको बताए ।
एमालेले भरतपुर महानगरको मेयरमा मात्रै उम्मेदवारी दर्ता गरेको छ । उपमेयरमा भने राप्रपा उम्मेदवारलाई समर्थन गर्नेछ ।
यो पनि : २०७४ सालको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा कूल मतदाता संख्या १ लाख ५० हजार २७४ रहेको थियो ।
निर्वाचनमा १ लाख १२ हजार ८९७ मत खसेको थियो । खसेकोमध्ये १ लाख ११ हजार ४७३ मत सदर भएको थियो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा नेकपमा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले तालमेल गरेका थिए ।
निर्वाचनमा मेयर पदमा माओवादीको तर्फबाट उम्मेदवार बन्नुभएकी बनेकी रेणु दाहाल विजयी बन्नुभयो ।
निर्वाचनमा दाहालले ४३ हजार १२७ मत ल्याई विजयी बन्नुभएको थियो । नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार देवी प्रसाद ज्ञवालीको भन्दा मात्र २०३ मत बढी ल्याएर विजयी बन्नुभएको थियो । ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए ।
निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदमा उम्मेदवार बनेका बद्रीनाथ तिमिल्सीनाले ६ हजार ८४२ मत पाउनुभएको थियो ।
२०७४ सालमा भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार पार्वती शाह ठकुरी विजयी बन्नुभएको थियो । उहाँले ४७ हजार १९७ मत प्राप्त गर्नुभएको थियो ।
उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार दिब्य शर्माले ३९ हजार ५२५ मत प्राप्त गर्नुभएको थियो । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रिना गुरुङले ७ हजार २५२ मत ल्याउनुभएको थियो ।




















