बुटवल – राष्ट्रिय राजनीतिमै प्रभाव पार्नसक्ने बुटवल उपमहानगरपालिकाको मेयर पदको उम्मेदवारका लागि बाबुराम भट्टराईले एमाले उपाध्यक्ष विष्णु पौडेलको साथ छाडेर महासचिव शंकर पोखरेलको साथ लिएपछि टिकट पाएका छन् ।
यसअघि भट्टराई नेता पौडेलसँग निकट थिए । पार्टीमा महासचिव पोखरेल प्रभावशाली र उपाध्यक्ष पौडेल कमजोर बन्दै गएपछि भट्टराईले पौडेलको साथ छाडेर पोखरेलसँग नजिक भएपछि टिकट हात पार्न सफल भएको एमाले नेताहरु बताउँछन् ।
मेयरको टिकटका लागि हालका मेयर शिवराज सुवेदी, उपमेयर गोमा आचार्य, विष्णु पौडलका निकट गोपाल राना, पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसी लगायत आकांक्षी थिए ।
नगर समितिले यीसहित ८ जनाको नाम सिफारिस गरेको थियो । शिव सुवेदीको कार्यकाल सफल नभएको विश्लेषणसहित उनलाई नदोहोर्याउने
पार्टी नेतृत्वको संकेत पाएपछि सुवेदी पनि आफूले नपाए गोपाल राना भन्दा भट्टराईको पक्षमा उभिएका थिए । सुवेदी पनि महासचिव पोखरेल खेमाका हुन् ।
विष्णु पौडेलले रानालाई टिकट दिलाउन चाहे पनि यसअघि आफ्ना स्वकीय सचिव यम पाण्डेलाई बुटवल नगर अध्यक्ष बनाउन प्रयास गर्दा असफल भएको घटनाले यसपटक रानाको पक्षमा जोडबल गर्न नसकेको एमालेका एक कार्यकर्ताले बताए ।
‘यसपटक बुटवलको मेयरको टिकट वितरणमा महासचिव शंकर पोखरेल र सचिव छविलाल विश्वकर्मा हावी भए,’ एमालेका ती कार्यकर्ता भन्छन्, ‘उपाध्यक्ष पौडेलको आफ्नै गृहनगरमा केही लागेन ।’