भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो गरेपछि मुक्तिनाथमा खचाखच पर्यटक

लमजुङ – यति बेला हिमाली जिल्ला मुस्ताङमा पर्यटक खचाखच छन् । चक्रीय अन्नपूर्ण पदमार्गको मुक्तिनाथ क्षेत्रमा अझ बढी पर्यटक छन् । मुक्ति क्षेत्रमा बढी मात्रामा धार्मिक पर्यटक पुग्ने गरेका छन् ।

आन्तरिक मात्रै नभएर भारतीयसमेत बस रिजर्भ गरेर मुक्तिनाथमा पुग्ने गरेको व्यवसायी बताउँछन् । गाउँदेखि दुई दिन यात्रा गरेर मुक्तिनाथ पुगेको लमजुङको क्व्होलासोंथर गाउँपालिका–४ कमागाउँकी पूर्णकुमारी गुरुङले बताइन् ।

मुक्तिनाथमा बढेको भीडले स्वयं पर्यटक नै दंग परेका छन् । भारतको गुजरातबाट आएकी पूर्णकाशी गुरुङ मुक्तिनाथ क्षेत्रमा पर्यटकको भीड देख्दा अचम्ममा परिन् । पछिल्लो समय अत्यधिक मात्रामा पर्यटक आएको होटल व्यवसायी बताउँछन् ।

‘मान्छे नै गन्न नसक्ने गरी आएका छन्,’ मुक्तिनाथमा होटल व्यवसाय गरिरहेका कर्म लामाले भने । मुक्तिनाथमा २० भन्दा बढी पर्यटकीय होटल रहेको र सबै खचाखच रहेको उनले जानकारी दिए ।

समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइको मुक्तिनाथमा प्रतिदिन ४ हजार जनाले दर्शन गरिरहेका पुजारी कृष्णप्रसाद सुवेदीले बताए । अप्रिल, मे र जुन मनाङ र मुस्ताङमा पर्यटक आउने सिजन हो ।

चक्रीय अन्नपूर्ण पदमार्गमा वैशाख–जेठमा विदेशी पर्यटक अत्यधिक आउँछन् । यो सिजनमा धेरै मात्रामा भारतीय तीर्थालु आउने गरेको पुजारी सुवेदीको भनाइ छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गरेपछि दक्षिणी भारतबाट धेरै तीर्थालु आएको उनले बताए । मोदीले २०७५ वैशाख २९ मा मुक्तिनाथ दर्शन गरेका थिए ।

अहिले मुक्तिनाथमा जिप, कार, स्कोर्पियो र बस सजिलै आउन सक्ने इलाका प्रहरी कार्यालय मुक्तिनाथका असई गिरु पौडेलले जानकारी दिए । एकै दिन ३ सयको हाराहारीमा मोटरसाइकलका सवारी साधनसमेत आउने गरेको उनले बताए ।

अहिले प्रतिदिन औसत ३ सय भारतीय पर्यटक मुस्ताङ आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमका पर्यटन सहायक राजन लामिछानेको भनाइ छ ।

औसत ५० जना भने तेस्रो मुलुकका रहने गरेको उनले बताए । पर्यटकलाई पोखरा, मुस्ताङतर्फ घासा र जोमसोममा पर्मिट दिने गरिएको एक्याप मनाङका कार्यालय प्रमुख ऋषि बरालले जानाकरी दिए ।

सार्क मुलुकका पर्यटकलाई प्रतिव्यक्ति १ हजार र विदेशीलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिएर संरक्षित क्षेत्रको भ्रमण अनुमति दिइन्छ । कोरोना संक्रमणपछि मुक्तिनाथको चेकपोस्ट बन्द छ । पर्यटकलाई दृष्टिगत गरी मुक्तिनाथ चेकपोस्ट छिट्टै सञ्चालन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...