एमाले घोषणा : कठिन बस्तीहरुमा केबुलकार विस्तार देखि घरमै भत्तासम्म !

काठमाडौं : नेकपा एमालेले मोटरबाटो पुग्न कठीन बस्तीहरुमा केबुलकार चलाउने प्रस्ताव अघि सारेको छ। पार्टी स्थापना दिवसको अवसरमा

चुनावी घोषणा पत्र जारी गर्दै एमालेले मोटरबाटो पुग्न कठिन बस्तीहरुमा स्तरीय पदमार्ग, केबुलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने उल्लेख गरेको छ। 

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक गरेको स्थानीय निर्वाचनको चुनावी घोषणापत्रमा यस्ता संकल्प गरिएका हुन्। पार्टीका नेताहरूले चुनाव जितेपछि लिने नीति र व्यवहारलाई एमालेले जनतासँग ‘संकल्प’ भनेको छ।

घोषणापत्रमा  भ्रष्टाचार नगर्ने र गर्नेलाई कडा कारबाही गर्ने उल्लेख छ। छोटो समयमा नै मुलुकलाई  समुन्नत र सबल राष्ट्र निर्माण गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ। 

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर ओलीले ७ प्रतिबद्धतासहित ४८ पेजको घोषणापत्र सार्वजनिक गरेका हुन्। ‘सुशासन, समृद्धि र समाजवादीको आधार पालिकापालिकामा एमालेको सरकार’ भन्ने नाराका साथ घोषणापत्र ल्याएको हो।

रेल, पानीजहाजदेखि विद्युतीय बसको विषय घोषणापत्रमा उल्लेख छ। अशक्त अवस्थामा रहेको ज्येष्ठ नागरिकलाई घरमा नै भत्ता उपलब्ध गराउनेदेखि लोपोन्मुख, सीमान्तकृत, धार्मिक र लैंगिक अल्पसंख्यक,

जोखिममा परेको जाति र परिवारको संरक्षणको लागि कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता एमालेको छ। बालबालिका, ज्येष्ठ नागरिकका साथै युवाका एजेन्डालाई पनि घोषणापत्रमा राखिएको छ।  

त्यस्तै प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने र प्रतेयेक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत् पालिका केन्द्रसँग जोड्ने र हरेक बस्तीहरुलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने अवधारणा एमालेले लिएको छ।

त्यस्तै सडक निर्माण गर्दा यसको दीगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको अनिवार्य व्यवस्था गर्ने र जथाभाबी डोजर प्रयोगलाई निरुत्साहित गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ। 

त्यस्तै ठूला नदी प्रणालीहरुमा जल यातायातको विकास गर्ने र यातायात सुविधान पुगेका पालिकाहरु अटो भिलेजको विकास गर्ने घोषणा पत्रमा उल्लेख छ।

त्यस्तै विद्युतीय सवारी साधन लगायत पर्यावरणमैत्री यातायात सञ्चालनलाई प्रोत्साहन गर्ने र यससम्बन्धी आवश्यक पूर्वाधार विकास गर्ने अवधारणा एमालेले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...