काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीले जथाभावी मदिरा सेवनले विकृति र आपराधिक घटना बढेको भन्दै मदिरा कार्डको व्यवस्था लागू गर्ने बताएको छ ।
मंगलबार स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै समाजवादीले मदिरा बिक्रीवितरणमा कडाइ गर्नुपर्ने उल्लेख गरेको हो ।
जथाभावी मदिरा सेवनले मानिसहरूको सम्पत्तिसकिने, झैझगडा हुने भएकाले मदिरा सेवन गर्नेले पालिकाबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिने उल्लेख गरेको छ ।
‘जथाभावी मदिरा सेवनले गर्दा मानिसहरूको सम्पत्ति सकिने, परिवारमाझैंझगडा हुने, मदिरा पिएर विभिन्न विकृति र अपराधका काम गर्ने कुरालाई कडाइपूर्वक नियन्त्रण गर्नु आवश्यक छ ।
मदिरासेवन गर्नेहरूले पालिकाबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिने छ । यसबाट जथाभावी रूपमा मदिरासेवनमा नियन्त्रण हुने छ भने सामाजिक अनुशासन कायम गर्न पनि मद्दत पुग्ने छ,’ समाजवादीको घोषणापत्रमा भनिएको छ ।
नेकपा एमालेबाट विभाजित भई माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीले पहिलो पल्ट निर्वाचनमा भाग लिन लागेको हो । आगामी स्थानीय निर्वाचनमा सत्तारुढ दलहरू गठबन्धनबाट चुनाव लड्ने निर्णय गरिसकेका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा जित हासिल गरे ५ हजार लिटर पानी र २०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै माधव नेपाल नेतृत्वको सो पार्टीले हावापछि
पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक ५ हजार लिटर खानेपानी निशुल्क रुपमा उपलब्ध गराउने घोषणा गरेको हो ।
यस्तै खानेपानीको सुविधा नपुगेका स्थानमा अनिवार्य रुपमा पुर्याइने पनि घोषणापत्रमा प्रतिबद्धता गरिएको छ। यसैगरी प्रत्येक घरपरिवारलाई २०० युनिट बिजुली निःशुल्क रुपमा दिइने पनि घोषणा गरिएको छ ।
स्थानीय सरकारमार्फत हरेक घर परिवारलाई वार्षिक रुपमा २०० युनिटसम्म विद्युत महसुलमा छुट दिइने समाजवादीको भनाइ छ । यस्तै विद्युत सेवा नपुगेका हरेक घरमा बिजुली बालिने पनि समाजवादीको प्रतिबद्धता छ ।