काठमाडौं – नेपाली कांग्रेसको नेतृत्वमा रहेको ५ दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगर र उप–महानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा सोमबारसम्म टुंगो लगाउने जनाएका छन् ।
बालुवाटारमा आइतबार बसेको गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकले महानगर र उप–महानगरपालिकाको भागवण्डा टुंगो लगाउने निर्णय गरेका छन् । उनीहरूले सोमबारसम्म टुंगो लगाउने जनाएका हुन् ।
सबै प्रदेशमा तालमेलको अवस्थाबारे सोमबार नै कार्यदलको रिपोर्ट लिनेछन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले सोमबारसम्म महानगर र उप–महानगरको टुंगो लाग्ने बताए ।
गठबन्धनले स्थानीय तहमा चुनावी तालमेलका लागि भइरहेको प्रयासको समीक्षा पनि गरेको छ ।
राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले गठबन्धनका दलहरूले चुनाव जित्ने पक्का भएको ठाउँमा मैत्रीपूर्ण प्रतिस्पर्धा हुनसक्ने बताएका छन् ।
उनले गठबन्धनका दलबीच तालमेल नभइ जित्न नसक्ने ठाउँमा तालमेलमा जोड दिनुपर्छ भन्ने विषयमा नेताहरू सकारात्मक रहेको बताए ।
सोमबार कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिसँग निर्वाचन र तालमेलका विषयमा छलफल हुनेछ ।
पाँच दलीय गठबन्धनले स्थानीय तहको तालमेलको अवस्थाबारे बुझ्न केन्द्र, प्रदेश र स्थानीय तहमा संयन्त्र निर्माण गरेको थियो ।
पाँच दलीय गठबन्धनबीच आइतबार भएको सहमतिले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको धड्कन बढ्नेछ । चारैतिरबाट एक्लिएका ओलीलाई देउवाले तनाब दिएका छन् ।