संखुवासभामा स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धन नहुने भएको छ । गठबन्धनमा भागबन्डामा कुरा नमिलेपछि पाँचदलीय गठबन्धनमा आबद्ध दलबीच खटपट सुरु भएको छ ।
खाँदबारीमा चार दिनसम्म गठबन्धनको बैठक बस्दा पनि निष्कर्षमा नपुगेपछि गठबन्धन टुटेको अनुमान गरिएको छ । पटक-पटक छलफलमा बस्दा पनि निर्णय हुन नसकेपछि गठबन्धन लगभग टुटेको कांग्रेस सभापति दिपक खड्काले बताउनुभयो ।
भागबन्डामा कुरा नमिलेपछि गठबन्धन नहुने पक्का भएको बताउनुभयो । माओवादी केन्द्र छलफलबाट बाहिरिएपछि गठबन्धनको सम्भावना समाप्त भएको उहाँले बताउनुभयो ।
माओवादी केन्द्रका केन्दीय सदस्य तथा जिल्ला इन्चार्ज राजेन्द्र कार्कीले जानकारी दिए कांग्रेसभित्रको अन्तरविरोधका कारण गठबन्धनमा समस्या भएको बताउनुभयो । कांग्रेसभित्रको आन्तरिक कलहका कारण आज पनि सहमतिमा पुग्न नसकेको केन्द्रीय सदस्य कार्कीले बताउनुभयो ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो ।
संखुवासभामा १० स्थानीय तह छन् । त्यसमध्ये कांग्रेसले दुई नगरसहित तीन गाउँपालिका र एमालेले एक नगरसहित दुई गाउँपालिका जितेको थियो ।