चिल्लो कारमा हुइँकिने इन्जिनियरनै लाजमर्दो काममा संलग्न, रङ्गेहात पक्राउ

काठमाडौं 

निर्माणस्थलबाट निर्माण सामग्री गायब हुन थालेपछि महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोली उच्च निगरानीमा थियो । यही क्रममा सधैँ चिल्लो कारमा हुइँकिने एक इन्जिनियर शंकाको घेरामा परे ।

प्रहरी अनुसन्धानमा जुट्यो । अन्ततः उनै इन्जिनियर चोरी भएका ‘प्लाइउड’सहित पक्राउ परे । महाराजगन्ज वृत्तका अनुसार पक्राउ पर्ने निर्माण कम्पनी हिरोज कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिका मालिक आर्यन भनिने वासुदेव पुडासैनी हुन् ।

उनलाई प्रहरीले २७ चैतमा बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । अनुसन्धानपछि उनको गोदामबाट निर्माणस्थलबाट चोरी भएका ‘प्लाइ उड’ फेला परेका थिए ।

जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थपपछि उनीविरुद्ध थप अनुसन्धान भइरहेको छ । वृत्त प्रमुख डिएसपी प्रमेश विष्टले पुडासैनीविरुद्ध थप अनुसन्धान भइरहेको जानकारी दिए ।

‘महाराजगन्ज क्षेत्रका निर्माणस्थलबाट रोडा, बालुवा, रड, फर्मालगायत सामग्री चोरी भएको गुनसो बढ्न थाल्यो । प्रहरी उच्च निगरानीमा थियो । अनुसन्धानपछि चोरी भएको ‘प्लाइ उड’ पुडासैनीको गोदाममा फेला परेको छ । घटनामा थप बुझ्ने काम हुँदै छ,’ उनले भने ।

सिभिल इन्जिनियर पुडासैनी हिरोज इन्टेरियर डिजाइनका कार्यकारी अधिकृत पनि हुन् । प्रहरीका अनुसार उनी ठूला संरचना निर्माण र निर्माण भएका भवनको ‘इन्टेरियर डिजाइन’ गर्ने भन्दै ठेक्कमा लिन्थे । आकर्षक नक्सा बनाउँथे ।

निर्माणस्थलमा निर्माण सामग्री झार्न लागउँथे । दिउँसो गएर ‘स्टोर रुम’को रेकी गर्थे । भाडामा लिइएका ट्रक लिएर मध्यरात निर्माणस्थल पुग्थे । ‘स्टोर रुम’ खोल्न लगाउँथे ।

आवश्यकताअनुसार रड, बालुवा, रोडा, सिमेन्ट, फर्मालगायत सामग्री लोड गरेर गोदाममा लगी थन्काउँथे । केही समयपछि चोरीका तिनै सामग्री अन्य साटइमा लगेर बेचिदिन्थे ।

चोरीका सामान बेच्नेक्रममा उनलाई महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले २७ चैतमा पक्राउ गरेको हो । महाराजगन्ज वृत्तका अनुसार उनीविरुद्ध सातभन्दा धेरै निर्माणस्थलका निर्माण सामग्री चोरी गरेको आरोप छ ।

‘बुढानीलकण्ठ क्षेत्रका सातभन्दा धेरै निर्माणस्थलबाट निर्माण सामग्री चोरी भएको जाहेरी परेको छ । घटनाको अनुसन्धान चलिरहेको छ । ती घटनामा पनि पुडासैनी संलग्न हुन सक्ने आशंका छ,’ विष्टले भने ।नयाँपत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...