काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले दुबईमा नेपालीहरुले भिल्ला किनेर राखेको दाबी गरेका छन्। अर्थमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले दुबईमा नेपालीहरुले भिल्ला किनेको र त्यो पैसा पनि नेपालबाटै गएको दाबी गरे।
‘अहिले नेपालीहरुका दुबईमा धेरै भिल्लाहरु छन् रे, मैले सुनेको। त्यो नेपालबाटै गएको पैसाले किनेको त होला नि,’ सञ्चारकर्मीहरुको प्रश्नपछि उनले सुरुमै भने।
उनले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्त गरेकोबारे समेत स्पष्टीकरण दिए। उनले गर्भनर अधिकारीले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न नसक्दा राष्ट्र बैंकको प्रवधानअनुसार बर्खस्त गरेको बताए। ‘धेरै कुरा राष्ट्र बैंकले नियमन गर्छ। त्यसको नियमन अर्थमन्त्रालयबाट हुँदैन। तर उहाँको कार्यसम्पादन राम्रो देखिएन,’ उनले भने।
उनले उठेका धेरै प्रश्नहरुको उत्तर कमिटीको प्रतिवेदन आएपछि मात्र थाहा पाउने बताए। ‘गर्भनरका विषयमा छानबिन कमिटी गठन गरेका छौं। छानबिन कमिटीको रिपोर्टमा सबै कुरा आउँछ। कमिटीलाई काम गर्न दिइयो भने एक महिनाभित्र सबै कुरा आउँछ,’ उनले भने।