काठमाडौं – सरकारले धेरै रेमिटेन्स पठाउने व्यक्तिलाई राष्ट्रिय पुरस्कार दिने श्रममन्त्री कृष्णकुमार श्रेष्ठको प्रस्तावमा सकारात्मक देखिएको छ।
उक्त प्रस्ताव माथि आवश्यक छलफल गर्दै निर्णयमा पुग्ने गरी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको श्रेष्ठले बिजमाण्डूलाई बताए।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी मुद्रा संञ्चिति घट्दै गएपछि औपचारिक माध्यमबाट धेरै रेमिटेन्स पठाउनेलाई राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने प्रस्ताव मन्त्री श्रेष्ठले गरेका थिए।
त्यसैगरी, सरकारले इन्धन खपत नियन्त्रण गर्न जोरबिजोर लागू गर्ने बारे भने कुनै निर्णय नभएको मन्त्री श्रेष्ठले जानकारी दिए। आइतबार थप एक दिन सार्वजनिक विदा दिनेबारे थप छलफल आवश्यक भएको भन्दै गृहकार्य गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।
‘जोरबिजोर लागू गर्नेबारे पनि आजको बैठकले कुनै निर्णय गरेन। आइतबार थप एक दिन बिदा दिन भने थप छलफल र गृहकार्य गर्नुपर्ने देखियो,’ मन्त्री श्रेष्ठले भने।
यस्तै, सरकारले २० देशका लागि राजदुत सिफारिस गर्ने निर्णय पनि गरेको छ। १२ जना राजदूत राजनीतिक पृष्ठभूमिका छन् भने बाँकी आठजना परराष्ट्र सेवा तर्फबाट सिफारिस गरिएको श्रेष्ठले जानकारी दिए।
सेवा बाहिरबाट चीनमा विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकामा दानबहादुर तामाङ, स्पेनमा शर्मिला पराजुली, अष्ट्रेलियामा कैलाश पोखरेल, श्रीलंकामा बासुदेव मिश्र,
मलेसियामा डिल्लीराज पौडेल, रसियामा मिलन तुलाधर, इजरायलमा शान्ता रिजाल, डेनमार्कमा रामसुरज राय यादव र साउदी अरबका लागि नवराज सुवेदीको नाम सिफारिस भएको छ।
यस्तै, परराष्ट्र सेवाबाट नरेशविक्रम ढकाल, घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तीर्थराज वाग्ले रहेका छन्।





















