Advertisement

मन्त्रि मनाङेले किन कुटे कर्मचारी ? कर्मचारीलाई यस्तो कडा चेतावनी दिदै दिए स्पष्टिकरण

Advertisement

काठमाडौ – गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ले शाखा अधिकृत प्रकाश ओझालाई सम्झाएको प्रस्टीकरण दिएका छन्।

मन्त्रालयका सूचना अधिकारीसमेत रहेका ओझालाई दुर्व्यवहार गरेको समाचार सार्वजनिक भएपछि मन्त्री मनाङेले उक्त प्रस्टीकरण दिएका हुन्। 

‘मैले कुटपिट गरेको होइन, सम्झाएको हुँ,’ उनले भने, ‘त्यस्ता कर्मचारीलाई कस्ले झाप्पु हान्छ, मैले त अलि ठूल्ठूला मान्छेलाई हान्छु नि।’

मन्त्रालयको युवा स्वरोजगार कार्यक्रममा आफूले दिएको सुझाव भन्दा उल्टो लेखेकाले सम्झाउनु परेको उनले बताए।

‘मेरो मन्त्रालयमा ३ करोड २४ लाखको युवा स्वरोजगारको प्रोजेक्ट आएथ्यो, त्यसले ३४ करोड लेखेछ,’ उनले भने, ‘अर्थ र कानुन मन्त्रालयबाट पास भयो, क्याबिनेटमा लैजाँदा पो थाहा भयो उल्टो लेखेको कुरा।’

युवा स्वरोजगारको योजना आफूले अध्ययन नगरी स्वीकृतिका लागि अर्थ र कानुन मन्त्रालय पठाएको उनले बताए। ती दुबै मन्त्रालयबाट पनि अध्ययन नै नगरी पास भएको उनको भनाइ छ।

गण्डकीका भौतिक पूर्वाधार मन्त्री एवं प्रवक्ता कुमार खड्काले अध्ययन गरेपछि मात्र आफूले उल्टो लेखेको थाहा पाएको मनाङेले बताए। 

‘मन्त्री कुमार खड्काले पढेछन्, क्याबिनेटमा हामी सबै मन्त्री जेल जानुपर्ला यस्तो पर्पोजलले भन्यो,’ उनले भने, ‘त्यहाँ मेरो कत्रो बेइज्जत भयो।’

यसबारे शाखा अधिकृत ओझासँग कुरा गर्दा मिस्टेक भएर एउटा शून्य बढी भएको बताएको मनाङेले बताए। त्यसपछि आफूले प्रस्ताव पढ्दा अक्षरमा लेखिएकोमा पनि ३ करोड २४ लाख हुनुपर्नेमा ३४ करोड लेखिएको मनाङेको दाबी छ। 

शाखा अधिकृत ओझालाई बोलाएर आइन्दा यस्तो नहोस् भनेर सम्झाएको उनले दोहोर्‍याए। यसअघि पनि ओझाले युवा स्वरोजगारका कार्यक्रम वितरण गर्दा बाहिर डिल गर्ने र घुस खान खोजेको सूचना आफूले पाएको उनले दाबी गरे। 

युवा स्वरोजगार कार्यक्रमको प्रस्ताव लेख्दादेखि नै भ्रष्टाचार गरेको सूचना आफूले पाएको भन्दै ओझालाई कारबाही गर्न ५ सदस्यीय आयोग बनाउने मनाङेले चेतावनी दिए।

‘युवा छ, किन करियर खत्तम गरिदिने भनेर बसेको थिएँ, अब ५ जनाको आयोग बनाएर छानबिन गर्छु,’ उनले भने, ‘३ जना मन्त्रालयको राख्छु, २ जना बाहिरको मान्छे राखेर त्यसलाई जेल हाल्छु।’

ओझाले आफूलाई फसाउन डिजाइन गरेको समेत मनाङेले आरोप लगाए।

मंगलबार भएको कुराकानी आज कुटपिट भनेर बाहिर ल्याएको भन्दै उनले कर्मचारी युनियनसँग मिलेर आफूविरूद्ध डिजाइन गरेको आरोप लगाए। 

युवा स्वरोजगार कार्यक्रमको प्रस्तावमा अनुदान पाउने व्यक्तिको समूह ५१ प्रतिशत ४० वर्षभन्दा कम उमेरको मात्र भनेर लेखेकोमा पनि मनाङेले आपत्ति जनाए।

‘मनाङ, मुस्ताङमा ५० वर्ष नाघेका कृषिमा लागेका छन्, उनीहरूले २, ४ लाख भए पनि पाउँथे नि,’ उनले भने, ‘पैसा दिनै नमिल्ने गरी लेखेछ।’

आउँदो स्थानीय निर्वाचन आचारसंहिता लागू हुनुअघि नै आफूले अनुदान वितरण गर्न चाहेको उनले बताए। ‘अब आचारसंहिता लाग्छ, यो पैसा समयमा दिन पाइँदैन,’ उनले भने, ‘यसलाई जेल नहाली भएन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...