विराटनगर । प्रदेश–१ सरकारले प्रदेश खेलकुद बोर्डको उपाध्यक्ष बाबा मेन्याङ्बो र सदस्य सचिव कृष्ण बस्नेत ‘पर्शुराम’लाई बर्खास्त गरेको छ ।
सरकारलाई असहयोग गरेको, खेलकुद क्षेत्रमा कुनै काम नगरेको भन्दै उनीहरूलाई प्रदेश सरकारले हटाएको हो । एमाले निकटका बस्नेत गुण्डा नाइकेका रुपमा परिचित छन् । उनी विभिन्न अपराधका अभियोगमा पक्राउ गरेर छुटेका हुन् । बस्नेतले सम्पत्ति शुद्धीकरणमा पनि मुद्धा खेपेका थिए । पछि सफाइ पाएका हुन् ।
चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि प्रदेश नं. १ को सरकारले मेन्याङ्बो र बस्नेतलाई पदमुक्त गरेको छ ।
एमालेका तत्कालीन मुख्यमन्त्री भीम आचार्यले असोज २४ गते प्रदेश खेलकुद बोर्डको उपाध्यक्ष, सदस्य सचिव र सदस्यहरू नियुक्त गरेका थिए ।
पर्शुराम बस्नेतलाई सदस्य सचिव बन्ने योग्यता नपुग्ने भन्दै सरकारले स्पष्टीकरण सोधेको थियो ।
प्रदेश खेलकुद बोर्डको सदस्य सचिव बन्न कम्तीमा १० वर्ष खेलकुद क्षेत्रमा योगदान दिएको र असल चालचलन भएको हुनुपर्ने कानूनी प्रावधान छ ।
सरकारले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशक पदमा विष्णुकुमार कार्कीलाई नियुक्त गरेको छ ।
सरकारले यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेलाई सरकारको प्रवक्ता तोकेको छ ।
प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लक्समलाई नियुक्त गरेको छ ।
शेरधन राईको पालामा नियुक्त सुबोधराज प्याकुरेल मुख्यमन्त्री राईसँगै पदमुक्त भएपछि सो पद रिक्त थियो ।
प्रदेश सरकारले त्यसबेला सदस्य रहेका पाँचथरका डा. लक्समलाई उपाध्यक्ष नियुक्त गरेको छ ।
आयोगका सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की (संखुवासभा), नारायण कोइराला (सुनसरी), प्रकाश राई (भोजपुर) र अञ्जु खड्का मोरङलाई नियुक्त गरेको छ । रिपब्लीका