Advertisement

सबै पालिका हार्ने भएपछि माओवादीलाई एमालेले दियो गोल्डेन अफर

Advertisement

काठमाडौँ – मोरङको केराबारीमा ०७४ सालमा काँग्रेसका उम्मेदवार रोहित कोइरालाले ५ हजार ४ सय ९९ मत ल्याएर अध्यक्षमा बाजी मारे ।

त्यही पालिकामा उपाध्यक्ष पदमा भने एमालेकी शान्तिकुमारी लिम्बूले ५ हजार ७ सय ४७ मत ल्याएर विजयी बनिन् । त्यसबेला माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेको थियो ।

झन्डै बराबरी मत रहेको काँग्रेस र एमालेले अहिले उक्त गाउँपालिकामा माओवादीलाई उपप्रमुखसहित ५ वटासम्म वडा दिने भन्दै ‘अफर’ गरिरहेका छन् ।

सो गाउँपालिकामा माओवादीले जसलाई सघाउँछ उसैले जित्ने अवस्था रहेको हिसाब दुवै दलले राखेका छन् । मोरङकै कानेपोखरी गाउँपालिकामा पनि यस्तै अवस्था छ ।

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका ताराबहादुर काफ्लेले ६ हजार ५ सय ८८ मत ल्याएर विजयी बन्दा माओवादी केन्द्र दोस्रो स्थानमा थियो ।

माओवादीका उम्मेदवार सूर्य धिमालले ४ हजार ६ सय ६७ मत ल्याएका थिए भने काँग्रेसका केदारबहादुर थापाले ४ हजार ३ सय ४७ मत ल्याएका थिए ।

त्यहाँ पनि माओवादीसँग जसले तालमेल ग¥यो उसैले सोलोडोलो जित्ने अवस्था छ । ‘एमालेका साथीहरूले पनि हामीसँग तालमेल गरौँ, ल उपाध्यक्षसहित कति वडा वडा लिने भनेर अनौपचारिक छलफल गरेका थिए,’ माओवादी कानेपोखरी गाउँपालिकाका इन्चार्ज अम्बिका अर्यालले भने, ‘मैले हामीलाई अध्यक्ष दिने हो भने मिल्ने भनेँ ।

उक्त गाउँपालिकामा काँग्रेस पनि कसरी तालमेल गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ । ‘गाउँपालिकामा कसरी तालमेल गर्ने भन्ने विषय केही समय हेर्नुपर्छ, माओवादीले दोस्रो पोजिसन लिएर जाने हो भने सहज हुन्छ,’ सोही क्षेत्रबाट निर्वाचित काँग्रेसका प्रदेशसभा सांसद सूयर्माराज राईले भने, ‘बरु कुन कुन वडाध्यक्ष लिने हो सहमति गर्नुपर्छ ।

मोरङकै लेटाङ नगरपालिका होस् या मिक्लाजुङ गाउँपालिका सबैतिर तालमेल नगरी जितिँदैन भन्ने मनोविज्ञानमा काँग्रेस र एमाले रहेको त्यहाँका स्थानीय नेता बताउँछन् ।

लेटाङ नगरपालिका माओवादीका इन्चार्ज कृष्ण लम्साल अनन्तले दुवै पार्टीले आफूहरूलाई उपप्रमुख र केही वडाको अफर गरिरहेको बताउँछन् । ‘हामीसँग दुवै पार्टीले सहकार्य गर्न चाहेको देखिन्छ उनले भने, ‘एमालेले बढी जोड गरिरहेको छ ।

एमाले नेता तथा मोरङका इन्चार्ज विनोद ढकाल आगामी चुनावमा घोषित गठबन्धन नगर्ने बताउँछन् । यद्यपि स्थानीयस्तरमा सहमतिहरू हुनसक्ने उनको भनाइ छ । एमालेका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले पनि गठबन्धनको अवस्था के हुन्छ हेरेर आफ्नो योजना बनाउने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...