सबैलाई चकित पार्दै यो पार्टीबाट भुवन केसी काठमाडौंको मेयर पदमा उठ्दै !

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनमा अभिनेता भुवन केसी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने भएका छन् ।

पार्टीको मंगलबार साँझ काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको बैठकले केसीलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । यस्तै केसीलाई उन्नत लोकतन्त्र पार्टीको परराष्ट्र विभागको अध्यक्षको जिम्मेवारी पनि दिएको अध्यक्ष नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि अभिनेता केसी राप्रपा प्रवेश गर्न लागेको चर्चा चलेपनि अन्ततः उनी स्वागत नेपाल नेतृत्वको पार्टीबाट उम्मेदवार बन्ने निर्णय गरेका छन् ।

उक्त पार्टीको तर्फबाट रेश्मा लामालाई काठमाडौं महानगरपालिकाको उपमेयर पदको उम्मेदवार चयन गरिएको छ ।

प्रेस विज्ञप्ति हेरौ २०७८/१२/२३
उन्नत लोकतन्त्र पार्टीको आज बसेको केन्द्रीय कार्य समितिको बैठकबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा नेपाली कलासंस्कृतिका मूर्धन्य व्यक्तित्व संसारका सबै देशका लागि सद्भावना राजदूत सरह भूमिकामा रहनु भएका काठमाडौंका पुस्तैनी वासिन्दा, काठमाडौं महानगरपालिका भित्रको सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान रहेका नेपाली चलचित्रका महान नायक भुवन के सी ज्युको उम्मेदवारीमा खुला किताब चुनाव चिन्ह सहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ ।
लामो समयदेखि पार्टीको संवाद समितिले गरेको छलफलपश्चात राइट टु रिजेक्ट, राइट टु रिकल, प्रत्यक्ष प्रजातन्त्र र उन्नत लोकतन्त्र प्रतिको प्रतिबद्धता गर्नुभएपछि उहाँलाई पार्टीको परराष्ट्र विभाग समेतको विभागीय अध्यक्षको जिम्मेवारी पनि तोकिएको छ ।

त्यसैगरी आजैको बैठकले काठमाडौं महानगरपालिकाको उपमेयर पदमा लामो समयदेखि महानगरपालिकाले हरेक वर्ष उठिवास लगाउने गरेको थापाथली पुल मुनि रहेको सुकुम्वासी बस्तीमा हुर्की बढी सोही स्थानको सानो प्लाष्टिकको छाप्रोमा रहँदै बस्दै स्नातक तह उत्तीर्ण गर्नु भएकी वैदेशिक रोजगारीमा समेत गएर त्यहाँ नेपालीको सम्मान नहुने गरेको पीडाबाट देशमै केही गर्छु भनी फर्किएर हाल शहरीया गरिबीको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहनु भएकी रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीको डाक्टर इञ्जिनियर वकील समाजशास्त्री अर्थशास्त्री समेत सम्मिलित विज्ञ परिषदको अध्ययनको निष्कर्शको आधारमा निर्देशिका बनाई जनतालाई निःशुल्क विद्युत, पानी, स्वास्थ्य, शिक्षा र भूमिहीनलाई आवास उपलब्ध गराउने योजना सहितको कार्यक्रम रहेका छन् ।
मेयरका उम्मेदवार भुवन के सीले सबै वर्गका जनताको बस्नलायक आधुनिक शहर निर्माण विज्ञ विभागको समेत परामर्शमा र उपमेयरले महानगरको न्यायाधीसको रुपमा न्यायिक समिति मार्फत कानुन विभागको परामर्शमा महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्नु हुने विश्वास रहेको छ ।
सुकुम्वासी बस्तीमा हुर्के बढेर सोही समस्याको समाधानका लागि आफैं महानगरको न्यायिक उपमेयरको उम्मेदवार बनेको यो विश्वको दुर्लभ घटना हो । उहाँहरु दुवै उम्मेदवार सहित उन्नत लोकतन्त्र पार्टीका देशभरका सबै उम्मेदवारहरुले मतदातालाई प्रभावित गर्न एक रुपैयाँ पनि खर्च गर्नु हुने छैन । साथै उहाँहरु लगायत यस पार्टीका सबै उम्मेदवारले आफ्नो सम्पत्ति विवरण पहिला सार्वजनिक गरेर मात्र उम्मेदवारी दर्ता गर्न पाउने पार्टीको निर्णय रहेको छ ।

साथै उहाँहरु लगायत यस पार्टीका सबै उम्मेदवारले आफूले गरेका वाचा जनता सामू तमसुक गरेर सो वाचा पूरा नगरे सोही तमसुकपत्रका आधारमा आफूलाई दिएको भोट फिर्ता लिएर पदबाट बर्खास्त गर्न करार नै गरिदिनु हुनेछ, सो करार अनुसार उहाँहरु उपर मुद्दा लाग्ने कुरामा समेत सहमति रहने पार्टीको निर्णय रहेको छ ।

विश्वास छ सबै आदरणीय काठमाडौं महानगरवासी लगायत देशभरका अन्य पालिकाका नागरिकले बत्ती पानी स्वास्थ्य शिक्षा र असाहय भूमिहीनहरुलाई निर्देशिका बनाई आवास समेत उपलब्ध गराउने योजना र कार्यक्रम सहित खुला किताब चुनाव चिन्हमा मतदात गरी विजयी गराई यतिका वर्षसम्म खेर गएको मत यस पटक खेर फाल्नु हुने छैन ।
~
अध्यक्ष
स्वागत नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...