काठमाडौ – एक जना ५२ वर्षका पुरुष विवाह गर्ने आश्वासन दिएर ४२ लाख रुपैया भन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
रामेछाप साँघुटार नगरपालिका ३ घर भई धापासी बस्दै आएका ५२ वर्षीय नवीन भन्ने लोकबहादुर श्रेष्ठ पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनलाइ एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो ।
श्रेष्ठलाई सोमबार विशाल नगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रेष्ठले पीडितलाई फोन सम्पर्क गरी विवाह गर्ने प्रलोभन देखाउने गरेका थिए। उनले पीडितलाई विश्वासमा पार्ने र बिरामी परेका कारण अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै योजना बनाएर ठगी गर्ने गरेको आरोप छ।
श्रेष्ठले पीडितसँग ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको आरोप छ। पीडितले आफू ठगिएको भन्ने सूचना दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो। प्रहरीले श्रेष्ठलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर काठमाडौं पठाएको छ।
फेसबुकमा साथी बनाएर खाजा खुवाउने बहानामा बलात्कार गर्ने पक्राउ, फेसबुकमा साथी बनेका अपरिचित युवाले खाजा खान बोलाएर बलात्कार गरेको आरोपमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सिराहा जिल्लाको सिराहा नगरपालिकाका २९ वर्षीय मुकेशकुमार यादवले ३६ वर्षीया ती महिलालाई ५ दिनअघि बलात्कार गरेका हुन् । रामेछापको मन्थलीमा यादव र ती विवाहित महिलाको भेट भएको थियो ।
फेसबुकमा साथी हुनु बाहेक उनीहरु दुईबीच चिनजान थिएन । प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार फेसबुक मेसेन्जरमा कुराकानी हुँदा भेटेर खाजा खाने योजना थियो ।
मन्थलीकै एक होटलमा पुर्याएर यादवले महिलालाई कोठा बन्द गरी जबर्जस्ती बलात्कार गरेको महिलाले दिएको उजुरीमा उल्लेख छ । कतै भनिस् र हल्ला गरिस् भने मारिदिन्छु भन्दै धम्काएर बलात्कार गरेपछि यादव फरार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
घटनापछि भाग्दै गरेका यादवलाई इलाका प्रहरी कार्यालय खुर्कोटको सहयोगमा शनिबार साँझ पक्राउ गरी जबर्जस्ती करणीको अभियोगमा अनुसन्धान थालिएको छ । यादव जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा छन् ।