काठमाडौँ । पशुपति मन्दिर परिसरमा रहेको धर्मशालामा होटल चलाउँदै आएको बतास समूहले उक्त होटल हटाउन भनी पठाइएको पत्र बुझ्न अस्वीकार गरेको छ ।
भारतको सहयोगमा बनेको नेपाल–भारतमैत्री धर्मशालाभित्र बतास समूहले होटल आनन्द नामक होटल चलाउँदै आएको छ । लिजमा लिएर होटल चलाएको भए पनि पछिल्लो समय सार्वजनिक सम्पदा अतिक्रमण विरुद्ध सरकारले कदम चालेपछि उक्त होटल हटाउन आग्रह गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले धर्मशालाको अनुगमन गर्दै केही महिना अघि उक्त होटल हटाउन निर्देशन दिएका थिए । सोही निर्देशन अन्तरगत
पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशालामा रहेको होटल हटाएर धर्मशाला खाली गरिदिन गत बिहीबार पत्र पठाएको थियो । तर बतास समूहले पत्र बुझ्न अस्वीकार गरेपछि कोषले उक्त पत्र आजको गोरखापत्रमा छापेर सार्वजनिक सूचना जारी गरेको छ ।
कोषले धर्मशालामा होटल आनन्दले सम्झौताका सर्तहरु पालना नगरेको भन्दै करार सम्झौता रद्द गरेको छ । होटल आनन्दका सञ्चालक आनन्द बतास र उक्त कम्पनीका प्रतिनिधि ओस्कर बतासका नाममा धर्मशाला खाली गरिदिन भन्दै ३५ दिने सूचना जारी गरेको हो ।
यसअघि कोषले गत फागुन १ गते पत्र काट्दै बतास समूहलाई ३५ दिनभित्र स्पष्टीकरण दिन आग्रह गरेको थियो । तर बतास समूहबाट सो अवधिमा कुनै जवाफ नआएको र अटेर गरेको भन्दै कोषको सञ्चालक परिषद
बैठक बसी चैत १४ गते बसेर चैत १७ गतेबाट उक्त करार सम्झौता रद्द हुने निर्णय गरेकाे थियाे । तर सम्झौता रद्दको पत्र बतासले नबुझेपछि कोषले सार्वजनिक सूचना जारी गरेको हो ।