काठमाडौँ l देश चुनावको घानमा पसेको मौका छोपेर सरकारले दुई वटा रुसी हेलिकप्टर सट्याकसुटुक भित्र्याउने सुरसार गरेको छ । बिचौलिया दिपक भट्टको योजनाअनुसार केही करोड चुनाव खर्च दुई ठूला सत्तारुढ पार्टीले भागबण्डा गर्ने सहमति कार्यान्वयनका नाममा अहिलेको अन्तर्राष्ट्रिय राजनीतिक माहौललाई नजरअन्दाज गरिए एमसिसी पाससङ्गै झन प्रगाढ बन्दै गएको संयुक्त राज्य अमेरिका र युरोपेली युनियनसँगको कूटनीतिक सम्बन्ध धरापमा पर्ने जोखिम बढेको परराष्ट्र मन्त्रालयस्थित श्रोतले जनायो ।
पाँच वर्षअघि खरिद प्रक्रिया अघि बढाइए पनि रोकिएका ती हेलिकप्टरलाई चुनावको मुखमा किन्न अघि सर्नुको कारण सजिलैसँग बुझ्न सकिन्छ । कम्तिमा ४६ करोड नेपाली रुपैयाँ कमिशन बाँड्न पाइने गरी प्रपञ्च मिलाइएको हेलिकप्टरको निम्ति उनै भट्टको निम्तोमा पर्सि रुसी अधिकारीहरु गोप्य तरिकाले नेपाल आउँदैछन् ।
यही मङ्गलवार अप्रिल १९ तारिखमा आएर २१ तारिख बिहिवार फर्कने योजनाअन्तर्गत हेलिकप्टर बेच्ने रुसी सरकारी कम्पनी रोजोबोरोनका अधिकारीहरुलाई प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटाउने चाँजोपाँजो पनि उनै भट्टले मिलाएको बुझिएको छ ।
गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण जारी राखेपछि अमेरिका, युरोपेली युनियन र उसका समर्थक मुलुकले रुसमाथि आर्थिक नाकाबन्दी लगाएका छन् । अन्तर्राष्ट्रिय व्यापारमा रुसी बैंकसँगको कारोबारसमेत बन्द गरिएको छ । यस्तो अवस्थामा विगतमा रोकिएको हेलिकप्टर खरिद प्रक्रिया एकाएक अघि बढाउनुले कमिशनको खेललाई स्वत: सिध्द गरेको विज्ञहरु बताउँछन् ।
नेपाली सेनाले सन् २०१७ मा दुई वटा हेलिकप्टर खरिद प्रक्रिया अघि बढाए पनि विविध कारणबस रोकिएको थियो । त्यसबेलाको सम्झौतामा हस्ताक्षर नै नगरी नेपालका लागि रुसी राजदूत एक्कासी स्वदेश गएका थिए । उनी अर्थोडक्स क्रिस्चियन भएकाले क्रिसमसको एक सातापछि नेपालबाट हिँडेका हुन् । अर्थोडक्स किस्चियनले अन्य क्रिस्चियनले भन्दा एक साता ढिलो क्रिसमस मनाउँछन् । उनीहरुले न्यू एअर पनि एक सातापछि मनाउने गर्छन् ।
राजदूत हिँडेका कारण दूतावासका प्रथम सचिवले सम्झौतामा सहि गरेका हुन् । हेलिकप्टर ल्याउने भनेर गरिएकोे २०१७ को उक्त सम्झौता हालसम्म अलपत्र छ । त्यसबेला पनि रुसी दूतावाससँग सम्झौता भएकै दिनको राति अमेरिकी दूतावासले आफूनिकट एक अनलाइनमा समाचार प्रकाशित गराएको थियो जसमा हेलिकप्टर खरिदको सम्झौता हुन लागेकाले खबरदारी गरिएको थियो ।
अमेरिकाले समाचारमा आफूले नेपाललाई सैन्य सामाग्री तथा चार वटा जहाज दिन लागेकाले त्यसमा असर पर्नसक्ने आशयको समाचार सन् २०१७ को डिसेम्बर क्रिसमस आसपास प्रकाशित गराएको आरोप रुसी पक्षको छ ।
त्यसपछि भने हेलिकप्टर खरिदको विषय गोलमाल हुँदै गयो । प्रक्रिया लम्बिँदै गयो । २०२० जनवरीदेखि कोरोना महामारी शुरु भयो । त्यसअघि पूर्णचन्द्र थापा प्रधानसेनापति भए । उनले उक्त विवादित हेलिकप्टर आफ्नो कार्यकालमा नलिने भन्दै सम्झौतालाई बेवास्ता गरिदिए । गत भदौदेखि नयाँ प्रधानसेनापति प्रभुराम शर्माको नियुक्तिसँगै राष्ट्रिय राजनीतिमा पनि छुट्टै घटनाक्रम विकसित भयो । पहिले झैं अहिले पनि ठ्याक्कै काँग्रेस सत्तामा आएपछि बिचौलिया दिपक भट्ट एकाएक सक्रिय भएर हेलिकप्टर भित्र्याउने योजना बुनेका हुन् ।
उनको योजनाअनुसार यसबीच रक्षा मन्त्रालयबाट उक्त प्रस्ताव लगेर अर्थबाट समेत स्वीकृत भइसकेको छ । सुदूर पश्चिमका प्रधानमन्त्री देउवाले त्यतैका बिचौलिया सँलग्न यो कारोवार चलिरहेका बेला मन्त्रालय अभावका वीच पनि रक्षा छाड्न नमान्नु र उर्जामा हुँदा भट्टलाई अनेकौं जलविद्युत परियोजना बुझाउने हालका अर्थमन्त्री जनार्दन शर्माले रातारात अर्बौं रकमको स्वीकृति दिनु आकस्मिक संयोग मात्रै हुनै सक्दैन ।
कुनै पनि रुसी सुरक्षासामाग्री निर्यात उक्त कम्पनीमार्फत मात्रै हुने त्यहाँको व्यवस्था छ । पुटिनले यसअघि राष्ट्रपति हुँदा उक्त कम्पनी स्थापना गरेका हुन् । चुनावको मुखमा हाटहुट पाराले हेलिकप्टर खरिद गर्दा न्यूनतम चालिस लाख अमेरिकी डलर अर्थात ४६ करोड रुपैयाँ दलालहरुको भागमा पर्ने भएकाले सरकारमा रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको जिम्मेवारी लिएका पार्टीका नेताहरु समेत सलबलाएका हुन् ।
चुनावको मुखमा खरिद गर्न लागिएका दुई वटा हेलिकप्टरको लागि २०१७ मा तोकिएको मूल्य तीन थरि थियो । सामान्यलाई १७ दशमलव ४ मिलियन डलर,सेमी डिलक्सलाई १८ दशमलव ३ मिलियन र सबै साजसज्जा भएको एक्सक्लुसिभलाई १९ दशमलव २१ मिलियन अमेरिकी डलर तोकिएको थियो ।
हेलिकप्टर किन्दा पनि सवारी साधन झैँ आधारभूत मात्र खरिद गरिन्छ । पछि त्यसको इन्टेरियर डेकोरेसनको लागि थप रकम लाग्ने गर्छ । त्यहिअनुसार १७ देखि २० मिलियन डलरको भाउ दिइएको हो ।
भट्ट र उनको योजनामा संलग्नहरुले अब १९ दशमलव २ मिलियन डलरको कोटेशन हाल्न लगाएर १७ दशमलव चार मिलियनको ल्याउने दाउ बनाएको पनि प्रष्ट भएको छ । यसअघि सन् २०१५ मा दुई वटा हेलिकप्टर ल्याउँदा पनि त्यसै गरिएको थियो । त्यतिबेला १२ मिलियनको हेलिकप्टरलाई १६ मिलेनियम बनाएर ल्याइएको थियो । भट्टमार्फत् उक्त हेलिकप्टरमा प्याकेज डिल गरिएको थियो । त्यतिबेला हेलिकप्टर बट्टा मात्र आएको हो । भुईंचालोको बेला भएकाले ४० लाख डलर सबैले भासभुस बनाएकोमा कसैको ध्यान जान पाएन । अहिले पनि चुनावका बेला त्यहि खेल भएको बताइएको छ ।
अहिले पनि १७ दशमलव ४ मिलियनको भाउलाई बढाएर पछिल्लो कोटेशन भन्दै २०२२ को मूल्यमा २२ मिलेनियम बनाउने खेल भएको बताइन्छ । प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मालाई खुशी बनाउनुपर्ने भएकाले त्यति रकमको चाँजोपाँजो मिलाउनुपर्ने भन्दै भट्टको दौडधुप हुन थालेको हो ।
यता रुस भने युक्रेनको मामिलामा फसेको बेला ऊविरुद्ध आर्थिक नाकाबन्दी गरिएको छ । अमेरिकाको नेतृत्वमा पश्चिमले सबैखालको प्रतिबन्ध र नाकाबन्दी लगाएको छ । यस्तो बेला खरिद गर्ने भनिएको उक्त हेलिकप्टरको रकम कसरी भुक्तानी गर्न सकिन्छ ? रुसलाई भुक्तानी गर्न कुनै पनि च्यानलमा गाह्रो अवस्था एकातिर र अर्कोतर्फ अमेरिका र युरोपेली युनियनले रुससँग व्यापारिक कारोबार गर्ने मुलुकलाई कालोसूचीमा राख्ने सम्भावना पनि उत्तिकै छ ।
त्यसैले प्रधानसेनापतिले चाहेर पनि अहिलेको अवस्थामा हेलिकप्टर खरिदको नयाँ सम्झौतामा हस्ताक्षर गर्ने अवस्था नभएको उच्च स्रोतको दाबी छ । कथम् उनले त्यसो गरेको खण्डमा युरोपेली युनियन र अमेरिकासँग सम्बन्ध चिसिने सैन्य अधिकारीहरुले नै बताएका छन् । जनआस्थाबाट