काठमाडौं : नेकपा (एमाले) का नेता भीम रावलले राप्रपा नेपाल र नेपाल परिवार दलसँग पार्टीको चुनावी तालमेलबारे असन्तुष्टि जनाउँदै आफ्नै पार्टी नेतृत्वलाई प्रश्न गरेका छन् । रावलले बिहीबार ट्वीटमार्फत सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिन्ह हो र ? भन्दै प्रश्न गरेका छन् ।
‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्ह्मा लड्ने तर एमाले हुनु नपर्ने रे !’, उनले लेखेका छन्, ‘के सूर्य चिन्ह् बिक्री हुने व्यावसायिक बस्तु हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिए जस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिस्ट पार्टीको फजिती मात्र !’ बुधबार एमालेले राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो ।
राप्रपा नेपालले सूर्य चिन्हमा चुनाव लडे आयोगले एमाले उम्मेदवारको रुपमा रेकर्ड राख्ने
यसैबीच निर्वाचन आयोगले जुन दलको चुनाव चिन्हमा उम्मेदवारले आफ्नो उम्मेदवारी दिन्छन्, सो व्यक्तिलाई सोही चुनाव चिन्ह रहेको दलको ब्यक्तिको रुपमा चिन्ने जनाएको छ ।
जुन पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवार निर्वाचित हुन्छन्, आयोगले सोही पार्टीको जनप्रतिनिधिको रुपमा रेकर्ड राख्ने आयोगको कानून तथा राजनीतिक दल महाशाखा प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । यदि कमल थापाको पार्टीका उम्मेदवारले सूर्य चिन्हमा चुनाव जितेमा आयोगको रेकर्डमा उनीहरु एमालेका प्रतिनिधिको रुपमा अभिलेख हुने उनले बताए ।


















