अब उनीहरू कहिल्यै स्कुल आउने छैनन्

काठमाडौँ – कक्षा दुईमा पढ्ने आठ वर्षीया सृष्टि र नर्सरीमा पढ्ने चार वर्षीया श्रेया बाबु रोहन तामाङको मोटरसाइकल चढेर बुधबार बिहान घरबाट स्कुल जाँदै थिए ।

तर उनीहरू स्कुल पुग्न पाएनन्, न त अब कहिल्यै घर नै फर्किनेछन् । बिहान ८ बजेतिर गोकर्णेश्वर नगरपालिका–१ श्वेतबराही मन्दिर नजिकैको तामाङ गाउँका रोहन दुई छोरीलाई मोटरसाइकलमा राखेर घर नजिकैको बस स्टपसम्म जाँदै थिए ।

स्टपबाट स्कुल बस चढाएर छोरीहरूलाई स्कुल पठाउने उनको योजना थियो । मेलम्ची चोकमा पुगेका बेला उनी सवार मोटरसाइकललाई बालुवा बोकेको टिपरले ठक्कर थियो ।

त्यतिबेला घटनास्थलकै अघिल्तिर घर भएका विनय सिंखडा साढे दुईतले घरको छतमा बसेर चियाको सुर्की लगाउँदै थिए ।

‘आधा कप चिया पनि खाएको थिइनँ । घद्र्याङ्ग गरेको आवाज आयो अनि ऐया भनेर कोही कराएको सुनें,’ उनले भने, ‘छतबाट हेर्नेबित्तिकै थाहा पाएँ, टिपरले मान्छे हानेछ ।’

उनी दगुर्दै घटनास्थलमा पुग्दा सृष्टि र श्रेया टिपरको चक्कामुनि परिसकेका थिए । रोहनको पनि खुट्टातिरको भागमा चक्का बसिसकेको थियो ।

चलाएको बा५१प ८४२४ नम्बरको मोटरसाइकललाई बा४ख ६९६५ नम्बरको टिपरले किचिसकेको थियो । ‘मेरो त हंसले ठावै छोड्यो । केही सोच्नै सकिनँ,’ सिंखडाले सुनाए ।

टिपरलाई अलिक अघि सारेर रोहनलाई चक्कामुनिबाट निकालेर अत्तरखेलको नेपाल मेडिकल कलेज पुर्‍याइयो । ‘साना छोरीहरूको त त्यहीँ प्राण उडिसकेको थियो,’ सिंखडाले भने,

‘गम्भीर घाइते रोहनको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ ।’ सामान्य ज्याला मजदुरीको भरमा परिवार पाल्दै आएका रोहनका दुई छोरी सोही नगरपालिकाको

वडा नम्बर ४ स्थित वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा पढ्थे । घटनाको खबर थाहा पाउने बेला रोहनका दाइ उमेश एउटा घरको पर्खाल बनाउने काम गरिरहेका थिए ।

कुराकानीमा उमेशले आफूले दुर्घटना भएको सुन्नेबित्तिकै काम छाडेर घटनास्थलतर्फ दगुरेको बताए । उनले भने, ‘घरका सबै जना बेहोस जस्तै हालतमा छन् ।’

स्कुलका प्रिन्सिपल निराजन सेढाईंलाई बिहीबार जस्तो नमज्जाको अनुभूति जीवनमा सायदै भएको थियो । घटनाको खबर थाहा पाउँदा स्कुलमा नियमित व्यायामको समय हुनै लागेको थियो ।

तर स्कुल प्रांगणमा देखिएको बिहानी उत्साह एकैछिनमा निराशामा बदलियो । उनले भने, ‘दुर्घटनाको खबरले सिंगो स्कुलभरि छटपटी भयो ।

सँगै पढ्ने विद्यार्थी सबै रोएका थिए ।’ प्रिन्सिपल सेढाईंले स्कुलमा जम्मा भइसकेका विद्यार्थीलाई घर पठाउने कि भन्नेबारे पनि सोचेका थिए ।

तर स्कुल बस जाने बाटोमै दुर्घटनास्थल थियो । उनले भने, ‘कक्षा सुरु गर्न सक्ने त कुरै भएन । विद्यार्थीलाई कसरी सान्त्वना दिन सकिन्छ भन्ने छटपटीमै दिन बितायौं ।’ कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...