काठमाडौं –
यात्रुबाहक बसमा छुटेको साढे ३ लाख नगद प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ सुन्दरटोल बस्ने ५३ वर्षीय दासाङ शेर्पाको नगद छुटेको थियो।
मंगलबार जोरपाटी चोकबाट नारायणटार जाने क्रममा यात्रुबाहक बसमा साढे ३ लाख छुटेको भन्ने खबर प्रहरीलाई दिइएको थियो। महानगरीय प्रहरी वृत्त बौद्दबाट अरू प्रहरी इकाइलाई पनि खबर गरेर बसहरूमा चेक गरिएको थियो।

महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको टोलीले रत्नपार्कबाट जहरसिंह पौवासम्म चल्ने बा ४ ख ६४३३ नं. को यात्रुबाहक बसबाट रकम फेला पारेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।
उनले यस्ता घटनाहरूमा सामान सम्बन्धित धनिलाई फिर्ता गर्न मद्दत गरिदिन सार्वजनिक यातायातका चालक, सहचालकहरूसँग अनुरोध गरेका छन्।
‘सार्वजनिक यातायातका सवारी साधनहरूमा यात्रुका सामानहरू छुट्ने गरेको सन्दर्भमा त्यस्ता सवारीसाधनका चालक, सह-चालकहरूले सामानहरू प्रहरीमार्फत सम्बन्धित धनिलाई बुझाउन सहयोग गरी प्रदर्शन गरेको सकारात्मक व्यवहारको महानगरीय प्रहरी परिसर टेकुले सम्मान गर्छ, ’ उनले भने।
गलत नियतले छुटेको सामानहरू नबुझाएमा मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२० को दफा २४१ चोरी गर्न नहुने कसुरमा पक्राउ गरिने उनले बताए।
बागलुङका गौतम अबैध बस्तुसहित ललितपुरमा पक्राउ, ललितपुरको पुल्चोकबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार दिउँसो पौने ३ बजे ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित महानगर भवन अगाडिबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिए।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले बा २ ज ४९५१ नम्बरको ट्याक्सीमा प्रहरीले चेक गरेको थियो। त्यसमा बाग्लुङ तमान गाउँपालिका-४ घर भई काठमाडौं सामाखुसी गणेशस्थान डेरा गरी बस्ने २७ वर्षीय नरबहादुर गौतम सवार थिए।
उनले बोकेको सिमेन्टको बोरामा चितुवाको छाला बरामद भएको हो। छाला बरामद भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। सात फिट ३ इन्च लामो, ३ फिट ९ इन्च चौडाइ भएको चितुवाको छाला बरामद गरेको हो। उनीले बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।
