Advertisement

नेपालका कम्युनिष्ट पार्टी मिलाउन चीनले चाले यस्तो कदम, सबै दंग

Advertisement

काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यीले तीन दिने नेपाल भ्रमण सम्पन्न गरेर फर्किँदा केही प्रश्नहरु छोड्नु भएको छ ।

नेपालका कम्युनिष्ट पार्टीहरुमा चिनियाँ प्रभाव रहेको भन्ने आरोपहरुमा पुनः शंका उब्जिने गरी उहाँले शिष्टाचार भेटबाहेक पूर्वप्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभयो ।

तर पूर्वप्रधानमन्त्री नै रहेका नेकपा एकीकृत समाजवादीका नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल भेटको प्राथमिकतामा पर्नुभएन ।

चिनियाँ विदेशमन्त्री वाङ यीले झण्डै ४८ घण्टा नेपालमा बस्दा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्ना समकक्षी नारायण खड्कासँग भेट गर्नुभयो ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि उहाँले भेट गर्नुभयो ।

नेपाल भ्रमणमा आउने विदेशी पाहुनालाई शिष्टाचार र समकक्षीसँगको भेटवार्ताले मात्र पुग्दैन । ठूलो संख्यामा रहेका पूर्व प्रधानमन्त्रीहरु विदेशी पाहुनाले दिने भेटको व्यग्र प्रतीक्षामा रहन्छन् ।

नेपालकै परराष्ट्रमन्त्रीस्तरीय वा कुनै उच्च अधिकारीको विदेश भ्रमण हुँदा सम्बन्धित देशका सत्तापक्षका नेतालाई मात्र भेट गरे पुग्छ ।

तर नेपालमा ठूलो संख्या रहेका पूर्वप्रधानमन्त्री वा विपक्षी दलका नेताहरु आफूलाई वेटिङ प्राइममिनिस्टरका रुपमा विदेशी पाहुनाको भेट पर्खिरहेका हुन्छन् ।

यतिबेला चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणमा वेटिङ प्राइममिनिस्टरकै सपना बोकेका पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई प्राथमिकतामा परेनन् ।

मुख्यगरी नेपालमा यहाँका कम्युनिष्ट पार्टीहरुमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रभाव रहेको रुपमा व्याख्या हुने गरेको छ । त्यसो त नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको

एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले २०७६ साल असोजमा चिनियाँ कम्युनिष्ट पार्टीसँग प्रशिक्षण नै लिएको थियो ।

काठमाडौंमै आयोजित कार्यक्रममा तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरु सहभागी भएर दुई देशका कम्युनिष्ट पार्टीबीच विचार आदान–प्रदान कार्यक्रम गरियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङकै शासकीय शैलीमाथि विमर्श हुन थालिरहेका बेला नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीले सरकारकै नेतृत्व गरिरहेका बेला चिनियाँ नेताहरुसँग प्रशिक्षण लिएको थियो ।

त्यसपछिका दिनमा नेकपाभित्र बढ्दै गएको अन्तरविरोधमा चीनले निरन्तर मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरह्यो । राजदूत होउ यान्छी, ओली र प्रचण्डबीच मध्यस्थता गर्न निरन्तर लागिपर्नुभयो ।

तत्काली प्रधानमन्त्री ओलीले २०७७ पुस ५ मा संसद विघटन गरेलगत्तै पुस १२ गते राष्ट्रपति सीको दूतका रुपमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ यैचो नेतृत्वको विशेष टोली नै नेपालमा आएर तत्कालीन नेकपाका सबैजसो प्रभावशाली नेताहरुसँग भेट गर्‍यो ।

अदालती फैसलाले नेकपा विभाजन भएपछि पनि चीनले एमाले र माओवादी तथा यी पार्टीभित्रका असन्तुष्ट नेता मिलाउन राजदूत होउ यान्छीलाई निरन्तर परिचालन गरिरह्यो ।

केही समयअघि मात्रै पनि अमेरिकी सहयोग नियोग एमसीसीबारे नेपालमा चरम विवाद भइरहेका बेला चीनले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई संगै राखेर भर्चुअल संवाद गर्‍यो ।

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा नआईपुग्दै नेकपा एमालेका नेताहरू चीन भ्रमणमा थिए, वाङ नेपालमा रहँदा नेकपा माओवादीका केही नेताहरु चीन पुगे ।

यतिबेला परराष्ट्रमन्त्री नारायण खड्काको औपचारिक निमन्त्रणा हुँदाहुँदै पनि आकस्मिक मानिएको चिनियाँ विदेशमन्त्रीको भ्रमणमा पनि कम्युनिष्ट पार्टीका नेताहरु भेटवार्ताको प्राथमिकतामा परे ।

नेकपा गठनपछि विचार आदानप्रदानदेखि आन्तरिक द्वन्द्वमा मध्यस्थता गर्न लागिपरेको चीनले अहिले चुनावको नजिक तत्कालीन नेकपाका अध्यक्षद्वयलाई प्राथमिकतामा राखेर गरेको भेटलाई महत्वका साथ हेरिएको छ ।

प्रोटोकलका हिसाबले वेटिङ प्राइममिनिस्टरका रुपमा एमाले अध्यक्ष ओलीलाई मात्र भेट्नुपर्ने सामान्य कुटनीतिक संस्कारका बाबजूद माओवादी अध्यक्ष प्रचण्ड पनि भेटको प्राथमिकतामा पर्नुभयो ।

यो प्राथमिकता निर्धारणले चीन नेपालका प्रभावशाली कम्युनिष्टहरुलाई एक बनाउने प्रयासमा अहिले पनि तल्लीन नै हो कि भन्ने शंकालाई थप सुविधा उपलब्ध भएको छ ।

केही विरोध र केही बचाउपछि एमसीसी पासको तातो रहिरहेका बेला चीनले भेटका लागि निर्धारण गरेको प्राथमिकतामा ओली र प्रचण्ड मात्र पर्नुलाई नेपाली कम्युनिष्ट पार्टीमा चिनियाँ माइक्रोम्यानेजमेन्टको पुनः सुरुवातका रुपमा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...