काठमाडौं –
होलीको अघिल्लो दिन भक्तपुरको चाँगुनारायणमा ‘सस्तो मूल्यमा डलर साटिदिन्छौँ’ भनेर एकजना युवाले दुई जनालाई बोलाए । मकवानपुरका सुरेश न्यौपाने र
कैलालीको गोदावरी नगरपालिका–२ घर भएका वीरेन्द्र बहादुर खड्का चाँगुनाराणस्थित हलखोरियामा गए ।
थोरै मूल्यमा धेरै डलर लिने भनेर उनीहरु ८ लाख रुपैयाँ बोकेर गएका थिए । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भएका रेशम बुढाथोकीले रुमालमा पोको बनाएको डलर उनीहरुलाई दिए ।
अनि, ८ लाख लिएर फटाफट हिँडिहाले । रेशमले दिएको पोको फुकाएर हेर्दा त्यहाँ डलर थिएन, डलर आकारमा काटेर बाँधेको कागज रहेछ ।
चोर–चोर भन्दै उनीहरुले रेशमलाई लखेट्न थाले । गाँउलेहरुले ‘चोर’ आएको भन्ने ठाने । त्यसपछि सुरेश र वीरेन्द्र मिलेर उनलाई कुटे । निर्घात कुटेपछि गाउँलेले प्रहरीलाई खबर गरे ।
महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले कुटेर गम्भीर घाइते भएका रेशमलाई अस्पताल पठाए । कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लियो ।
कुटपिटबाट गम्भीर घाइते भएका रेमश बुढाथोकीको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । सुरेश न्यौपाने र विरेन्द्र बहादुर खड्कालाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए ।
डलरमा आँखा लगाउँदा असई पक्राउ
चैत २ मा चाँगुनारायणमा झगडा भएको सुराक पाएपछि मान्छे पक्राउ गर्न गएका थिए महानगरीय प्रहरी प्रभाग साँखुका असई दिलिप खड्का टोली लिएर गएका थिए ।
मृतक रेशम बुढाथोकी र हत्या आरोपीको साथबाट उनले नगद ८ लाख सहित केही डलर बरामद गरेका थिए । मृतकले कागजको बाहिर राखेको १
रुपैयाँ दरका केही डलर असई खड्काले बरामदी मुचुल्कामा देखाएनन् । उनले ‘डलरको कुरा नगर्नु’ भनेर आफ्नै गोजीमा राखेर हिँडे । सो कुरा लिक भएपछि उनलाई पनि पक्राउ गरिएको छ ।
साँखुमा कार्यरत असई खड्कालाई ठगी सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको भक्तपुर परिसरका डिएसपी पाण्डेले जानकारी दिए । उनले भने, ‘सो घटनामा ज्यान सम्बन्धी कसुर र ठगी सम्बन्धी मुद्दा दर्ता गरेका छौं ।’
साँखु प्रहरीले असईको घरबाट डलर बरामद गरेर भक्तपुर परिसरलाई जिम्मा लगाएको छ ।