यूक्रेनी जनतामा छायो खुसीयाली, अमेरिकाले गरिदियो अर्को ठूलो सहयोग

वासिङटन डिसी : युद्धका कारण यूक्रेनबाट विस्थापित भएका एक लाख नागरिकलाई अमेरिकाले आश्रय दिने भएको छ। रूसको आक्रमणका कारण लाखौँ मानिस यूक्रेनबाट विस्थापित हुनु परेकाले तीमध्ये एक लाखलाई अमेरिकाले आश्रय दिने भएको हो।

अमेरिकाले अरु एक अरब अमेरिकी डलर पनि सहयोग गर्ने घोषणा गरेको छ। सो रकम यूक्रेनमा उत्पन्न मानवीय संकट समाधानका लागि प्रयोग गरिने अधिकारीहरुको भनाइ छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार दिएको जानकारी अनुसार, मानवीय सहायता अन्तर्गत खाद्य पदार्थ, आश्रयका लागि आवश्यक सामग्री, सफा पानी, स्वास्थ्य सामग्री लगायतका सहयोग प्रदान गरिने भएको हो।

महिना दिन पुग्यो रुस–युक्रेन युद्धः दुवैतिर रित्तिन थाले हतियार र रसद

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको महिना दिन पुगेको छ। पहिलो चरणको सघन लडाइँका कारण दुवै पक्षको गोला–बारुद तथा अन्य सैन्य सामग्रीको भण्डारण रित्तिँदै गएको छ।

रुसी सेनासँग तीन दिनलाई पुग्ने युद्ध सामग्री मात्र रहेको दाबी युक्रेनले गरिरहेको छ। अर्कोतिर, आफ्नै सेनासँग एन्टी–ट्यांक र एन्टी–एयरक्राफ्ट हतियार सकिन थालेको युक्रेनको भनाइ छ। वास्तविकता थाहा पाउन भने मुस्किल छ।

‘आपूर्तिको अवस्था के छ, बुझ्न कठिन छ। किनभने सुरक्षाका कारणले दुवै पक्षले यससम्बन्धी सूचना गोप्य राख्छन्,’ रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युट नामक थिंक ट्यांकका युद्धकला विशेषज्ञ निक रेनोल्ड्स भन्छन्।

पश्चिमा मुलुकले आपूर्ति गर्ने हतियार अभाव हुन थालेको चिन्ता युक्रेनलाई छ। तिनै हतियारले युक्रेनमा रुसी ट्यांक र विमानलाई ध्वस्त पार्ने गरेको छ।
बिहीबार नेटो शिखर बैठक सुरु हुनुअघि युक्रेनी सेनाले ठूलो मात्रामा त्यस्तो हतियार माग गरेको छ। बेलायतले थप पाँच हजार क्षेप्यास्त्र पठाउने बाचा गरेको छ।

रुसले पनि गम्भीर आपूर्ति समस्या झेलिरहेको स्पष्ट छ। जसका कारण एकै पटक राजधानी किभ र दोस्रो ठूलो सहर खार्कोव घेर्ने र दक्षिण तथा पूर्वबाट आक्रमण गर्ने महत्वाकांक्षी योजना त्याग्न रुस बाध्य भएको छ।

आपूर्तिमा गडबडी र युद्धमा भएको क्षतिका कारण एकै पटक धेरै मोर्चामा लड्ने क्षमता रुसले गुमाएको पश्चिमा अधिकारीहरुको भनाइ छ।

रुसले ७ हजारदेखि १० हजार सैनिक गुमाएको उनीहरुको अनुमान छ। र, यतिखेर रुस भयंकर बमबारी गरेर मारियोपोल कब्जा गर्नमा मात्र केन्द्रित भएको उनीहरु बताउँछन्।

रुसको कठिनाइ कुन हदसम्मको छ भन्ने कुराको महत्वपूर्ण संकेत राजधानी किभको उत्तरपश्चिमी भेगमा अवस्थित इरपिनमा युक्रेनले प्रत्याक्रमण गर्न सक्छ कि सक्दैन भन्ने कुराले दिनेछ। युद्धको पहिलो दिनदेखि नै यो ठाउँमा भयानक लडाइँ चलिरहेको छ।

‘इरपिन क्षेत्रमा युक्रेनी प्रत्याक्रमणको सुरुवाती रिपोर्ट सही साबित भयो भने किभ मोर्चामा रुसको आपूर्तिमा समस्या रहेको प्रमाणित हुनेछ। यद्यपि, मानवीय क्षति, गिर्दो मनोबल र कारबाही संयोजनमा कमजोरीजस्ता कुराले पनि भूमिका खेलेको हुनसक्छ,’ रेनोल्ड्स भन्छन्।

तथापि, लडाइँमा रुसको हात माथिबाट देखिन्छ।‘समग्रमा रुससँग सामग्री र सैनिकको संग्रह ज्यादा छ। जसलाई उसले प्रयोग गर्न सक्छ,’ नाम नबताउने सर्तमा एक पश्चिमा स्रोतले भन्यो।

तर, आपूर्ति मार्गमा अनेक कठिनाइ भने रुसलाई छ। युक्रेनको समस्या बढी गम्भीर छ। युक्रेनको हतियार उद्योग रुसको भन्दा निकै सानो छ।

त्यसमध्ये पनि पूर्वी भागमा रहेका उसका थुप्रै औद्योगिक क्षेत्र युद्धका कारण क्षतिग्रस्त भइसकेका छन्। यो क्षति दीर्घकालीन हो। जुन गैरसैनिक क्षतिप्रति रुसले देखाएको कम चासोलाई हेर्दा उसले जानीबुझी गरेको हो।

युक्रेन आफ्ना प्रमुख सबैजसो हतियारका लागि अहिले पुरै पश्चिमको निर्बाध आपूर्तिमा निर्भर छ। त्यस्ता महंगा हतियार युद्धमा चाँडो खर्च हुन्छन्। तर, तिनको उत्पादनमा धेरै समय लाग्छ।

त्यसैले, हतियार र गोलाबारुदको कुरा गर्दा ठूलो मानवीय क्षति बेहोर्न रुस तयार भए लामो युद्ध रुसका लागि फाइदाजनक हुन्छ। दुर्भाग्यवश, भ्लादिमिर पुटिन त्यो क्षति बेहोर्न इच्छुक देखिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...