काठमाडौं –
आसन्न स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिन हजारौँ युवा तथा महिलाहरूले आवेदन दिएको नेपाल प्रहरीले जनाएको छ।
झन्डै ४० दिनको जागिर खान आवेदन दिन लामबद्ध भएका केहीले रहरले भर्ना हुन लागेको बताए पनि धेरैले बेरोजगारी तथा आर्थिक समस्याका कारण छोटो अवधिकै लागि भए पनि अवसर सदुपयोग गर्न लागेको बताएका छन्।
गत २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा ७५,००० म्यादी प्रहरी भर्ना गरिएको थियो भने यसपालि एक लाख जनालाई भर्ना गरिने बताइएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक विष्णुकुमार केसीले दल वा दलगत स्वार्थमा लागेको ठहर भए म्यादी प्रहरीलाई कारबाही गरिने बताएका छन्।
म्यादी प्रहरी बन्न तीन दिनमा डेढ लाख जनाले आवेदन दिएका छन् । देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आइतबार, सोमबार र मंगलबार मात्रै १ लाख ३९ हजार ७५९ जनाले दर्खास्त दिएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले बताए ।
पहिलो दिन आइतबार ३० हजार २९९, सोमबार ५२ हजार २९९ र मंगलबार ५७ हजार १६१ जनाले आवेदन दिएको उनले बताए । यसपटक म्यादी प्रहरीले नेपाल प्रहरीको मातहतमा रही ४० दिन खटिनेछन् ।
छनौट समितिले आवेदनहरुबाट योग्य व्यक्ति छानेपछि एक साता तालिम दिइनेछ । त्यसपछि उनीहरुलाई काममा खटाइनेछ । म्यादी प्रहरी छनौटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ ।
समितिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेना र सशस्त्र प्रहरी बलको राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक सदस्य सचिव रहने प्रावधान छ ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् ।
म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने भनिएको छ । २०७८ साउन १ गतेदेखि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्राथमिकता पाउनेछन् ।
म्यादी प्रहरीको आवेदन दिएर फर्किदै गरेकी १९ वर्षीय श्रेयाको मृत्यु, धनकुटाको सांगुरीगढी गाउँपालिका ६ मा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गोलखाडी–भेडेटार भित्रीकच्ची सडक खण्डमा भेडेटारबाट गोलाखाडीतर्फ जाँदै गरेको मे.१ ज २१६२ नम्बरको सुमो जिप मंगलबार राति अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा सांगुरीगढी-७ बस्ने वर्ष १९ कि श्रेया राईको मृत्यु भएको हो ।
म्यादी प्रहरीको आवेदन दिएर घर फर्किएकी सख्त घाइते श्रेयालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिप र चालक इलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रण रहेको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।