Advertisement

निर्माणाधीन बुद्धपार्कको बुद्धमूर्ति तोडफोड

Advertisement

सिन्धुपाल्चोक – जुगल गाउँपालिका–७ याङ्लाकोट मुन्थली डाँडामा निर्माणाधीन बुद्धपार्कको बुद्धमूर्ति बिहीबार बेलुकी अज्ञात समूहले तोडफोड गरेको छ ।

प्रदेश सरकारको बजेट र स्थानीय तहको समन्वयमा तीन वर्षदेखि बन्दै आइरहेको पर्यटकीय संरचना फुटाएर ध्वस्त बनाइएपछि स्थानीय आक्रोशित भएका छन् ।

जुगल गाउँपालिका–७ का अध्यक्ष दिलकुमार लामाका अनुसार पर्यटकीय प्रवर्द्धनको उद्देश्य बोकेर सुरुवाती २० लाख बजेटमा मुन्थली डाँडामा ५ फिटको बुद्धमूर्तीसहित अन्य परम्परागत संरचना ठड्याइएको थियो ।

‘यहाँको झण्डै ६ रोपनी जग्गामा केही ठूला र साना गरी ६ वटा बुद्ध र अन्य बौद्ध धर्मसँग सम्बन्धित देवीदेवताका मूर्ति थिए, अन्य परम्परागत संरचना पनि टुक्राटुक्रा पारेर फुटाइएछ,

यो घटनाले साह्रै चित्त दुखेको छ, ’ लामाले दुखेसो गरे । स्थानीय तह आएलगत्तै आफ्नो अगुवाइमा सुरु गरिएको योजना भत्काइएपछि तत्कालै सुरक्षाकर्मीलाई सूचना दिइसकेको उनले उल्लेख गरे ।

जिल्लाको सदरमुकाम चौताराबाट करिब ३० किलोमिटरको दूरीमा रहेको दुर्गम याङलाकोटसम्म कच्ची सडक जोडिएको छ । याङ्लाकोट गाउँपालिका क्षेत्रमा पुगेर तोडफोड घटनाबारे तीव्र अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।

‘शान्तिदूत बुद्धको मूर्ति यसरी तोडिनु पूरै दुखद भयो । यसबारे स्थलगत रुपमा गहिरो अनुसन्धान सुरु गरेका छौं । स्थानीय र शंकास्पद व्यक्तिलाई आवश्यक सोधपुछ चलिरहेको छ,’ एसपी अधिकारीले भने ।

बुद्धको मूर्ति तोडफोड हुनु बौद्ध धर्मकै अपमान भएको भन्दै तामाङ घेदुङ, बौद्ध संघ र समस्त सिन्धुबासीले नै सामाजिक सञ्जालमा आपत्ति जनाएका छन् ।

नेपाल तामाङ घेदुङका जुगल अध्यक्ष फुलकाजी स्याङ्बोले यसले धार्मिक सहिष्णुतामाथि चोट पुगेको र यसले सिंगो देशलाई दु:खी बनाएको बताए ।

‘विवाद या द्वन्द्व हुनु छलफलको विषय भयो । तर, यसकै नाममा कुनैपनि धार्मिक मनलाई चोट पुग्ने काम गर्नुहुन्न, अझै हाम्रो गौरव विभूति बुद्धको मूर्ति तोडिनु झनै भयानक काम हो,’ उनले भने ।

स्थानीयका अनुसार रातारात मूर्ति तोडेर ढालिएको संरचनाको हेर्दा हतारमै घन, गलजस्ता सामाग्री प्रयोग गरिएको देखिन्छ ।

बुद्धसँग जोडिएको जुगल

बौद्ध धर्मका बुद्धपछिका दोस्रा बुद्ध मानिने गुरु रिन्पोछे (पदमसंम्भव) र हिन्दुका अराध्यदेव महादेवसग जोडिएको अनेक पुराना गुम्बा मन्दिरजस्ता धार्मिक जुगल गाउँपालिमा छन् ।

११ वटा चुचुरा रहेको जुगल हिमश्रृंखला हिमक्षेत्रको जुगल गाउँपालिका वडा ३ मा पर्छ । बौद्ध परम्पराअनुसार जुगल हिमश्रृंखलाकै काखमा रहेको फराकिलो जंगली इलाका, मैदान नेपेमाशाल अर्थात देवताको स्वर्ग मानिन्छ ।

यहाँको तोङक्युप गुफा र मैदानमा रेन्पोछेको तपोभूमि, छेन्दाङ पाल्देन माम् अर्थात् महाकालीको बसोबासस्थल मानिन्छ । यीबाहेक ब्रम्हायाणी नदीको मूल, हजार जना अट्ने हजार गुफा, ज्युठी, ग्याप खर्क, बुम्बाशेर्बु, श्याबल पोखरीको आफ्नै धार्मिक महत्त्व र सौन्दर्यता छ ।

कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...