काठमाडौं –
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने जानकारी दिएका छन् । बिहीबार पत्रकार सम्मेलन गरेर उनले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताएका हुन् ।
‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उनले भने, ‘तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ ।’
भारतमा ऊर्जा संकट आएपछि नेपालमा पनि यसको असर परेको भन्दै उनले केही समयका लागि महसुल बढाएर भए पनि नियमित विद्युत् दिने बताए ।
अहिलेको समयमा ३५० मेगावाट विद्युत भएमा सिस्टम चल्ने भन्दै उनले यो समस्या जेठबाट स्वतः अन्त्य हुने कार्यकारी निर्देशक घिसिङले बताए । उनका अनुसार जेठमा तामाकोशीसहितका हाइड्रोपावरबाट विद्युत उत्पादन हुने हुँदा विद्युत प्रवाहमा समस्या हुँदैन ।
असारदेखि नेपालले पाँच सय मेगावाट विद्युत निर्यात गर्न सकिने भन्दै उनले अहिले तत्काल देखिएको समस्यामात्र रहेको बताए । यस्तो समस्या सधैं नदेखिने भन्दै उनले लोडसेडिङ नहुने दोहो¥याए ।
यो पनि : नेपालले शुक्रबार दिनभरका लागि भारतबाट बिजुली पाउने भएको छ । प्रतियुनिट भारु २० रुपैयाँमा खरिद गर्नेगरी नेपालले हालेको प्रस्तावमध्ये अधिकांश बिजुली पाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
‘हामीले प्रस्ताव गरेको मध्ये ९१ प्रतिशत बिजुली पाउने भएका छौं,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘यो बिजुलीले औद्योगिक ग्राहकको माग जेनतेन धान्न सक्छ । बाँकी कुलेखानी जलाशय आयोजनाबाट पनि थप बिजुली व्यवस्थापन गर्न सक्छौं ।’
प्राधिकरणले शुक्रबारका लागि औसत मूल्य प्रतियुनिट भारु १८ रुपैयाँ ६७ पैसा (२९ रुपैयाँ ८७ पैसा) मा बिजुली पाएको पनि भट्टराईले जानकारी दिए ।
यसमा ह्विलिङ चार्ज, सेवा शुल्क र एजेन्सी कमिसन गरी प्रतियुनिट ६ रुपैयाँ अतिरिक्त शुल्क लाग्नेछ । योसहित प्रतियुनिट आयातित बिजुलीको कुल लागत करिब ३६ रुपैयाँ पर्नेछ ।
इन्डियन इनर्जी एक्सचेन्जबाट बिजुली किन्नका लागि नेपालले हरेक दिन प्रतिस्पर्धा गर्दै आएको छ । तर नेपालले प्रस्ताव गरेको मूल्यभन्दा भारतीय
बजारमा बिजुली महँगो भएपछि बुधबार र बिहीबार बिजुली पाएको थिएन । जसकारण औद्योगिक ग्राहकका लागि प्राधिकरणले अघोषित लोडसेडिङ गरेको थियो ।




















