पोखराबाट अचम्मका क्याप्टेन पक्राउ, थाहाँ पाउदा सबै चकित !

नाम : अर्जुन कटुवाल । पद : नेपाली सेनाको क्याप्टेन । हाल : शान्ति सेना मिसनमा कार्यरत । यी परिचयसहित फेसबुकमा एक युवक भेटिन्छन् । प्रोफाइल खोलेर हेर्दासमेत अविश्वास हुँदैन ।

किनकी त्यहाँ उनका प्रायः फोटो नेपाली सेनाको पोशाकमै छन् । कुनै कुनै फोटो त अझ नेपाली सैनिक क्याम्पमा सिपाही साथीहरुसँगै ! शंका गर्नुपर्ने कुनै कमजोरी हुँदैन ।

त्यसै क्रममा फेसबुकमै अर्जुनसँग भेटिन्छिन्, ओखलढुंगा सिद्धिचरणकी ३५ वर्षीय सरिता खड्का । त्यतिबेला उनकी बहिनी नेपाली सेनामा भर्ती हुन जाने तयारी गरिरहेकी थिइन् । नेपाली सेनाकै क्याप्टेन सम्पर्कमा आएर सहयोग गर्ने भएपछि उनी पनि दंग थिइन् ।

बहिनीलाई नेपाली सेनामा भर्ती गराउन खड्कासँग कटुवालले १ लाख ५० हजार रुपैयाँ मागेका थिए । बहिनी सैनिक हुने लोभमा उनले तत्कालै ५० हजार रुपैयाँ मनी ट्रान्सफरमार्फत पठाइदिइन् । तर लगत्तै उनलाई अर्जुनले फेसबुकमा ब्लक गरिदिए ।

२०७६ मा ओखलढुंगा सानेभञ्ज्याङकी सिर्जना तामाङका दुई भाइ सिंगापुर पुलिसमा भर्ती हुने तयारीमा थिए । त्यही क्रममा सिर्जनाको भेट फेसबुकमा अर्जुन एस मगर नामक युवकसँग भयो । उनले आफू नेपाली सेनाको क्याप्टेन रहेको र सैनिक सेवाका ठूलाठूला मान्छेसँग चिनजान रहेको सुनाउँछन् ।

‘मेरो नेपाली सेनाको क्याप्टेन हुँ । हाल शान्ति मिसनका लागि विदेशमा छु । तपाईंको भाइलाई सिंगापुर पुलिसमा भर्ती गरिदिन सक्छु,’ विश्वास दिलाउँदै मगरले तामाङलाई भन्छन्, ‘त्यसका लागि १५ लाख लाग्छ । अहिले ५ लाख दिएर पछि भर्ती भएपछि बाँकी पैसा दिए हुन्छ ।’

तामाङले दुई भाइ सिंगापुर प्रहरीमा भर्ती हुने लोभमा ५ लाख रुपैयाँ मनी ट्रान्सफरमार्फत पठाइदिइन् । त्यसपछि अर्जुनले उनलाई पनि ब्लक गरिदिए । भाइहरु भर्ती त भएनन् नै पैसा पनि गुम्यो ।

यसरी परियारबाट ठगीमा पर्नेमा दोलखा वैतेश्वर गाउँपालिकाका ५२ वर्षीय अर्जुन बस्नेत पनि छन् । उनले छोरा देवराज बस्नेत नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट बनाउने लोभमा गएको कात्तिकमा ४ लाख रुपैयाँ बुझाएका थिए ।

आफूलाई नेपाली सेनाको क्याप्टेन बताउँदै ठगी गर्दै हिँडने व्यक्ति एउटै थिए, ३८ वर्षीय धनबहादुर परियार । आफूलाई ‘अर्जुन कटुवाल’ का नाममा नेपाली सेनाको रुपमा चिनाउँदै विभिन्न व्यक्तिलाई ठगी गर्दै आएको आरोप लागेका परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

परियार ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ५ घर भई हाल उनी पोखरा १० अमरसिंह चोकमा बस्दै आएका छन् । उनी सिर्जना तामाङ, सरिता खड्का र अर्जुन बस्नेतको जाहेरीका आधारमा फागुन ३० गते पक्राउ परेका हुन् । उनले विभिन्न व्यक्तिलाई सिंगापुर पुलिस, विभिन्न सैन्य पदमा भर्ती गराइदिन्छुु भन्दै लाखौं रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार परियारले पीडितबाट आइएमईमार्फत पैसा मगाउँदा भने आफ्नो परिचय खुलाउँथेनन् । उनले त्यसमा आफ्ना नजिकका साथीहरु प्रयोग गर्ने गर्थे ।

‘एक ठाउँबाट पैसा आउनुछ । त्यताबाट लिएर मेरो खातामा राख्दे है भन्दो रहेछ,’ जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापा भन्छन्, ‘साथीहरुलाई पनि यो ठगी कार्यमा संलग्न छ भन्ने थाहै नहुने स्थिति थियो ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीका अनुसार परियारले आफूलाई क्याप्टेनका रुपमा सबैलाई विश्वास दिलाउन सबै पोशाक तथा तयारी सामान जम्मा गरेका पनि थिए । उनले पीडितलाई विश्वास दिलाउन महंगा खालका नक्कली धातुजन्य गहना लगाएर म्यासेन्जरमा भिडियो कल पनि गर्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...