काठमाडौं –
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई आफ्नै पार्टीका कार्यकर्ताले बहिस्कार गरेका छन् । मन्त्री झाँक्री आज बिहान रुद्रमती (धोबिखोला) सरसफाइ
महाअभियानमा सहभागी हुन कपन आउँदा नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताले बहि’स्कार गरेका हुन् ।
मन्त्री झाँक्री काठमाडौंको क्षेत्र नम्बर ४ र ५ को नेकपा समाजवादी पार्टी कमिटीसँग समन्वय नै नगरी सुटुक्क रुद्रमती सफाइको प्रमुख अतिथिका रुपमा आएकी थिइन् ।
नेकपा समाजवादीको तर्फबाट मन्त्री भएकी झाँक्रीले काठमाडौं क्षेत्र नम्बर ४ र ५ का कार्यकर्तालाई थाहा नै नदिई सुटुक्क रुद्रमती सफाइमा सहभागी हुन आएको गुनासो पार्टीका नेता कार्यकर्ताको छ ।
आफ्नै पार्टीको मन्त्री रुद्रमती सरसफाइमा आउन लागेको जानकारी नभएपछि झाँक्रीको कार्यक्रम नै बहि’स्कार गर्नुपरेको नेकपा समाजवादीका नेताहरुले बताए ।
मन्त्री झाँक्रीको कार्यक्रममा क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्ने बागमती प्रदेश सांसद कुसुमकुमार कार्की पनि सहभागी भएका थिएनन् ।
नेकपा समाजवादी क्षेत्र नम्बर ४ का अध्यक्ष ध्रुवराज न्यौपाने र ५ का आरके सेढाई समेत कार्यक्रममा उपस्थित भएका थिएनन् । हाम्रो पार्टीका मन्त्री
आउने कार्यक्रमबारे थाहा नै नपाएपछि कार्यक्रममा कसरी जाने ? नेकपा समाजवादी काठमाडौं क्षेत्र नम्बर ४ का अध्यक्ष धु्रवराज न्यौपानेले भने ।
मन्त्री झाँक्रीलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रुद्रमती सफाइमा ल्याएका थिए ।