काठमाडौं –
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग उनकै निवास पुगेर छलफल गरेका छन्।
नारायणकाजीले नयाँ पार्टी खोल्ने वा पार्टी परित्याग गर्ने सूचना पाएपछि हतारहतार हात्तिवन हानिएका प्रचण्ड नारायणकाजीको तितो जवाफ सुनेर रितो हात फर्र्किएका हुन् ।
आइतवार अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता माओवादीकोसमेत समर्थनमा संसदबाट पारित गरिएपछि तीव्र असन्तुष्टि जनाएका वरिष्ठ नेता श्रेष्ठसँग हरिसिद्धि पुगेर मंगलबार दिउँसो वार्ता गरेका हुन्।
एमसीसी पास गर्न नहुने पक्षमा रहेका श्रेष्ठबारेमा प्रचण्डले खुमलटारमै सोमबार आयोजित पत्रकार सम्मेलनमा छाडेर जानेलाई रोक्न नसकिने बताएका थिए।
अर्कातिर आइतवारै साँझ नारायणकाजीले माओवादीको समेत समर्थनमा एमसीसी पास भएपछि कालो दिन भन्दै चर्को वि’रोध जनाएका थिए।
दुई नेताबीच परस्पर बाझिने कुरा सार्वजनिक भइरहेपछि माओवादी फुट्ने आशंकाबीच प्रचण्डले नारायणकाजीलाई फकाउन खोजेका हुन्।
प्रचण्डले नारायणकाजीकै निवास पुगेर माओवादी केन्द्रलाई एकतावद्ध बनाएर अघि बढ्न भनेका थिए। ’अध्यक्ष प्रचण्डले पार्टीलाई एकतावद्ध बनाएर जाऊँ,
विवा’दबारे पार्टीकै आन्तरिक बैठकमा छलफल गरौँ भन्नु भयो’, नारायणकाजी निकट एक नेताले भने, ’अध्यक्षले पार्टी एकता बचाइराख्न जरु भएको कुरा राख्दै फेरि पनि छलफल गर्न अनुरोध गर्नुभयो।’
सोमबार प्रचण्डको अभिव्यक्तिलाई लिएर आक्रो’शित नारायणकाजीले आफूले पार्टी छाडेर जान नखोजेको जवाफ दिएका थिए।
’मैले पार्टीबाट हट्ने, पार्टी छाड्ने कुरा गरेको होइन। तर तापाईंले नै छाडेर जा भन्नु भयो’, उनले प्रचण्डलाई भने, ’तपाईंले नै वामदेव जसरी पार्टी छाडेर जानेलाई रोक्न नसकिने भनेपछि सोच्नुपर्ने अवस्था आयो।’
तर फेरि प्रचण्डले नारायणकाजीलाई फकाउँदै आफूले त्यसो नभनेको जवाफ दिएका थिए। ’होइन, मैले त्यस्तो केही भनेको होइन।
अलग सन्दर्भलाई लिएर भनेको कुरा पार्टीको धारणा होइन’, प्रचण्डले भने, ’अहिले हामी सबैले यताउता सोच्नु भन्दा पार्टी एकता जोगाएर हाम्रा मतभेदहरुबारे बैठकमा छलफल गरौँ, मन माझामाझ गरौँ।’
प्रचण्डले पार्टी छाड्ने कुरा नसोच्न आग्रह गर्दै फेरि पनि छलफलमा बस्न आग्रह गरेका थिए। यसबारेमा नारायणकाजीले आफूनिकट
नेता कार्यकर्ताहरुलाई ब्रिफिङ गरेका छन्। पार्टीमै बस्ने या नयाँ यात्रा थाल्ने कुराको निर्णय प्रचण्डसँग अर्को पटक हुने छलफलले निर्धारण गर्ने पनि उनले बताएका थिए।
’प्रचण्डजीले फेरि बसौँ भन्नु भएको छ। अध्यक्ष कमरेडसँग दोस्रो चरणमा बसेपछि थप छलफल गरौँला’, उनले आफूनिकट नेताहरुलाई भने, ’म एक पटक फेरि प्रचण्डसँग बस्छु अनि थप छलफल गरेर हामी निर्णयमा पुगौँला।’