काठमाडौं –
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरिने संकेत गरेकाे खुलेकाे छ ।
गत बुधबार बसेको पूर्व स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले जस्तोसुकै परिस्थिति पनि आउनसक्ने भन्दै त्यसका लागि तयार रहन मन्त्रीहरूलाई निर्देशन दिएको माओवादी केन्द्र उच्च स्रोतले जानकारी दियो ।
‘सरकारबाट बाहिरिने विषयमा छलफल भएको थियाे,’ स्रोतले भन्यो, ‘परिस्थिति जस्तोसुकै आउने र जतिखेर जे पनि हुनसक्ने भएकाले मन्त्रीहरूलाई तयारी अवस्थामा रहन भनिएको छ ।’
बैठक गाेप्य राखिएकाले छलफलका विषयवस्तु सार्वजनिक नभएकाे हाे । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयमा सत्तारुढ दलहरुबीच सहमति हुन सकेको छैन ।
नेपाली कांग्रेस यसको पक्षमा खुलेर लागिरहँदा माओवादी केन्द, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीको उपेन्द्र यादव पक्ष यसको विपक्षमा रहेको छ ।
फागनु ८ गतेको प्रतिनिधिसभा बैठकमा पनि माओवादी केन्द्रको असहमति हुँदाहुँदै एमसीसीको प्रस्ताव संसदमा टेबुल भएको थियो । बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले उठेर यसको वि’रोध गरेका थिए ।
यो पनि : अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट अनुमोदनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको आग्रह नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गर्नुभएको छ ।
आफ्ना पूर्ववत् मागहरु सम्बोधन भएपछि मात्रै प्रधानमन्त्रीको आग्रहमा सोच्न सकिने ओलीको भनाइ छ ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अर्का उपाध्यक्ष विष्णु पौडेललाई लिएर बालुवाटार पुग्नुभएका ओलीले माधव नेपालसहित १४ सांसदमाथि पार्टीले गरेको कारबाहीलाई निष्कर्षमा पुर्याउनु पर्ने बताउनुभएको हो ।
एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीलाई कांग्रेसले साथ दिएसम्म अन्य विषयमा सहकार्य हुन नसक्ने ओलीको अडान रहेको बुझिएको छ ।
सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पारित गराउन असहयोग गर्ने निर्णय गरेसँगै प्रधानमन्त्री देउवाले विपक्षी एमालेको साथ खोजिरहनु भएको छ ।
गत शुक्रबार बालकोट पुग्नुभएका देउवाले मंगलबार एमाले नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गर्नुभएको हो ।
एमालेले यसअघि सभामुख सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेकाले उहाँलाई समेत हटाउनुपर्ने बताए पनि मंगलबारको भेटमा त्यो विषयमा कुराकानी नभएको नेताहरुको भनाइ छ ।