काठमाडौँ –
पछिल्लो एक महिनाको बीचमा खाने तेलको मूल्य प्रतिलिटरमा ४० रुपियाँसम्म बढेको पाइएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो
एक महिनाको अवधिमा खाने तेलको मूल्य लिटरमा ४० रुपियाँसम्म बढेको छ । भटमास, सनफ्लावर तथा भुटेको तोरीको तेलको तुलनामा काँचो तोरीको तेलको मूल्य धेरै बढेको सङ्घले जनाएको छ ।
सङ्घका अनुसार यसअघि प्रतिलिटर ३३० देखि ३४० रुपियाँसम्म पाइने काँचो तोरीको तेल अहिले लिटरमा ४० रुपियाँ बढेर ३७० रुपियाँ पुगेको छ ।
यसैगरी भटमासको तेलको मूल्य प्रतिलिटर २४० रुपियाँ, सूर्यमुखी तेलको २६० र तोरीको तेल (भुटेको)को ३४५ रुपियाँ पुगेको छ ।
उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढ्यो भन्दै तेल उद्योगीले अनावश्यक मूल्य बढाउँदा सरकार रमिते बनेको आ’रोप लगाउनुभयो ।
“अहिले तेलको मूल्य कार्टोनमा १०० देखि १५० रुपियाँसम्म बढेको छ । अहिले उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण वस्तुको मूल्य बढेको छ ।
बजार अनुगमन र नियन्त्रण गर्ने नियामक निकाय नै लामो समयदेखि नेतृत्वविहीन बन्दासमेत सरकारले ध्यान दिएको छैन । सरकार नै मूल्य बढाउने पक्षमा भएकोजस्तो देखिन्छ,” उहाँले भन्नुभयो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको अस्वाभाविक मूल्य बढाउने उद्योगको विवरण मागेर अध्ययन सुरु गरेको छ ।
पछिल्लो पटक खाने तेलको अस्वाभाविक मूल्य बढेको गुनासो आएपछि विभागले उद्योगीसँग विवरणमा माग गरेर अध्ययन थालेको जनाएको छ ।
विभागका निर्देशक हरि पङ्गेनीले खाने तेलको मूल्य बढेको धेरै गुनासो आएपछि केही उद्योगको अध्ययन गर्दा ३–४ प्रतिशत मूल्य बढेको देखिएको बताउनुभयो ।
अस्वाभाविक मूल्य देखिएको अवस्थामा उद्योगसँग थप विवरण माग गरेर विभागले अध्ययन गर्दै गरेको उहाँले बताउनुभयो ।
निर्देशक पङ्गेनीका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेपछि अधिकांश उद्योगीले खाने तेलको मूल्य बढाउने गरेका छन् । उहाँले भन्नुभयो,
“अध्ययनमा चित्तबुझ्दो देखिएन भने पुनः विवरण माग गर्छौं । त्यति गर्दा पनि चित्तबुझ्दो भएन भने कानुनअनुसार अगाडि बढ्छौँ । ”
विभागले माघको अन्तिमतिर तेल उद्योगीसँग छलफल गरी तेलको मूल्य बढ्नुको कारणसहित तीन दिनभित्र आवश्यक कागजात पेस गर्न निर्देशन दिएको थियो ।
विभागले देशभर रहेका तेल उत्पादन गर्दै आएका १८ वटा उद्योगलाई पत्राचार गरेकामा अधिकांशको विवरण आएको जनाएको छ ।
“गल’त नियतले एकै रुपियाँ पनि ठगी गरेको छ भने त्यस्ता उद्योगी कसु’र अनुसार कारबा’हीको भागिदार हुनैपर्छ,” उहाँले थप्नुभयो । उहाँले विवरण बुझाउन अटेर गर्ने व्यापारीले असहयोग गरेमा कारबा’ही हुने बताउनुभयो ।
नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कअनुसार २०७७ पुसको तुलनामा २०७८ पुसमा घिउ र तेलको मूल्य २१ दशमलव २२ प्रतिशत बढेको छ ।
उद्योगीले तेल उत्पादनका लागि कच्चा पदार्थ विदेशीबाट ल्याउनुपर्ने र त्यो बढेर आएकाले तेलको मूल्य बढाउनु परेको बताउँदै आएका छन् । गोरखापत्र दैनिकमा सीता शर्माले खबर लेखेकी छन् ।