काठमाडौं –
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता सकेर बाहिरिएका प्रधानमन्त्री शेरबहादुर देउवा फेरि फर्किएका छन् । उनी अर्को चरणमा छलफलका लागि पुनः बालकोट फर्किएका हुन् ।
अहिले एमालेका एक दर्जन नेताहरु पनि बालकोटमा भेला भएका छन् । बालकोटमा भेला भएपनि एमालेका अन्य नेताहरु भने बैठकमा सहभागी छैनन् ।
बालकोट भेटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि सहभागी छिन् । गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा रातारात ओली भेट्न पुगेका हुन् ।
भेटपछि देउवाले चाल्ने कदमलाई महत्वका साथ हेरिएको छ ।
यो पनि : प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि केपी ओलीसँग सहयोग मागेको बालकोट स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनको लागि जसरी पनि सहयोग गर्न अपील गरेका थिए।
‘एमसीसी अनुमोदन गर्न प्रचण्ड र माधव नेपाल मान्नुभएन। एमसीसीलाई तपाइँले यसअघि पनि प्रक्रियामा लैजानुभएको हो। अमेरिकाले पनि
फागुन १६ भित्र जसरी पनि अनुमोदन गर्नुपर्ने भनेको छ। तपाइँले अनुमोदन गर्न सहयोग गर्नुपर्यो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
बैठकमा सभामुख अग्नि सापकोटाले एमसीसीबारे खेलेको नकारात्मक भूमिकाबारे समेत छलफल भएको बताइएको छ।
सत्ता गठबन्धनको आजै बसेको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा पत्नी आरजुसहित बालकोट पुगेका थिए।