रुकुम –
रुकुम पश्चिममा कार्यरत नेपाल प्रहरीका दुई जबानले समाज सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको भन्दै पुरस्कृत भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम अन्तर्गत सर्केना प्रहरी चौकी खोलागाउँमा कार्यरत प्रहरी जवानद्वय स्वयमप्रकाश हमाल र दलबहादुर बुढाले
एकजना वृद्ध बिरामीलाई बोकेर अस्पताल लैजाँदै गरेको तस्बिर सार्वजनिक भएपछि उनीहरुको प्रशंसा सुरु भएको छ।
त्यतिमात्र होइन, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उनीहरुलाई पुरस्कृत समेत गरेको छ। रुकुम पश्चिमका निमित्त प्रमुख प्रहरी निरीक्षक
डेकेन्द्र शर्मा र कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी गणेशबहादुर ऐरले फोन गरेर प्रहरी जवानद्वयलाई धन्यवाद दिनुका साथै दुबै प्रहरी जवानलाई जनही एक हजार पाँच सयका दरले पुरस्कारसमेत प्रदान गरिएको छ।
गएको मंगलबार गस्तीमा हिँड्दै गर्दा चौरजहारी नगरपालिका ११ का १०२ वर्षीय वृद्ध जसवीर ओली हिँड्न नसकेर भूइँमा बसिरहेको अवस्थामा भेटेका थिए।
बेसहारा ती वृद्ध सकिनसकी अस्पताल जान लागेको जानकारी पाएपछि उनीहरुले आलोपालो पिठ्युँमा बोकेर अस्पताल पुर्याएको थिए।
त्यो दृश्य चौरजहारी ११ का वडाध्यक्ष मनमोहन शाहले देखेपछि उनले तस्बीर खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए।
ढाड दुख्ने समस्या भएका ओली हिँडेर अस्पताल जाँदै गर्दा बाटोमै छटपटिएको देखेपछि प्रहरी जवानद्वय हमाल र बुढाले पिठ्युमा बोकेर
चौरजहारी १० मा रहेको शहीद स्मृति अस्पताल पुर्याएका हुन्। अहिले ओलीको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको छ।
समाजमा हुने अपराध न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षा दिन मात्र नभइ नागरिकलाई हुने दुःख पीडामा पनि प्रहरीले साथ दिने गरेको वडाध्यक्ष शाहले बताए।