काठमाडौँ –
नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने करिब निश्चित भएको छ । काँग्रेसको उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई मन्त्री बनाउन लागेका हुन् ।
प्रधानमन्त्री देउवाले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा मन्त्री ल्याउन लागेका हुन् । कोइरालालाई रक्षा मन्त्रालय दिने सम्भावना छ ।
स्रोतका अनुसार अर्को मन्त्री कसलाई बनाउने भन्ने टुङ्गो लागि सकेको छैन । निर्वाचनको मिति तोकिसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाउने भएकाले प्रधानमन्त्री देउवा मन्त्री बनाउने प्राथमिकता दिएका हुन् ।
दुई मन्त्री नियुक्त गर्न देउवाले बिहीबारको नियमित मन्त्रिपरिषद् बैठक नराखेको बुझिएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति तोक्ने देउवाको तयारी छ ।
त्यसअघि उद्योग र रक्षा मन्त्री बनाउने गरी उनी अगाडि बढेको काँग्रेस स्रोतले बतायो ।
यो पनि : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पासका लागि आन्तरिक छलफल गरेका छन् ।
विहीबार अपरान्ह प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र
काँग्रेस संसदीय दलकी सचेक पुष्पा भुसाललाई बालुवाटार बोलाएका थिए । देउवाले स्थानीय निर्वाचन र एमसीसीबारे बिफ्रिङ लिएका थिए ।
छलफलमा सहभागी भुसालले भनिन्, ‘२६ गते हाउस चलाउनका लागि कसरी जाने भन्ने कुराहरु भयो । सबै पार्टीसँग छलफल र संवाद गर्ने कुरा पनि भएको छ ।’
अब बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गराउने देउवाको तयारी छ । त्यसका लागि संसदभित्र र बाहिर माहोल बनाउन उनले मन्त्रीहरु खाण, कार्की, बडू र सचेतक भुसाललाई निर्देशन दिएका छन् ।