काठमाडौँ –
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।
नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ । यस्तै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ पुगेको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।
भारतीय आयल कर्पोरेशनले आज नै नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको थियो । प्रत्येक महिनाको १ र १५ तारिखमा पठाउने कर्पोरेशनले आज नयाँ मूल्यसूची पठाएको हो ।
निगमलाई प्राप्त मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.९२ रुपैयाँ बढेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ७.२४ रुपैयाँ तथा मट्टितेलमा ८.८० रुपैयाँ बढेर आएको निगमले जानकारी दिएको छ ।
यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर ७.४८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८२ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार अन्य सबै पेट्रोलियम पदार्थको मूल्य बढ्दा एलपी ग्याँसको मूल्य भने घटेर आएको हो ।
यो समायोजनले १५ दिनको जम्मा घाटा करिब २ अर्ब ६० करोडबाट ३७ करोडले घट्ने निगमको भनाइ छ । यसका बाबजुद अझै करिब २ अर्ब २३ करोड घाटा निगमलाई हुने देखिएको छ ।
निगमका अनुसार पेट्रोलमा अझै प्रतिलिटर १३.२३ रुपैयाँ र डिजेलमा ११.१३ रुपैयाँ घाटा रहेको छ । यता मट्टितेलमा प्रतिलिटर १८.१२ रुपैयाँ, आन्तरिक हवाई इन्धनतर्फ १०.५० रुपैयाँ तथा बाह्य हवाई इन्धनतर्फ ३२.७२ रुपैयाँ फाइदा रहेको छ । एलपी ग्यासमा भने प्रति सिलिन्डर ५६०.०९ रुपैयाँ घाटा रहेको छ ।
यस्तै पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मंगलबार प्रतिलिटर ३/३ रुपैयाँ बढाएको छ । अब प्रतिलिटर पेट्रोल १ सय ४२, डिजेल र मट्टीतेल १ सय २५ रुपैयाँ पुगेको छ । इन्धनमा यो मूल्यवृद्धिमा इतिहासकै सर्वाधिक हो ।
इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ सूचीअनुसार बढेको जनाउँदै निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । २०७० फागुन ३० मा पेट्रोल प्रतिलिटर १ सय ४० रुपैयाँ पुगेको थियो ।
तर त्यसपछि मूल्य घटेर २०७३ साउनमा प्रतिलिटर ९७ रुपैयाँसम्म भएको थियो । मूल्यमा पुन: उतारचढाव हुँदै २०७६ चैतमा प्रतिलिटर ९६ रुपैयाँ पुगेको थियो । त्यसयता बढ्न थालेको मूल्य उपभोक्तालाई राहत हुने गरी घटेको छैन ।
पेट्रोल मात्र नभई अहिले डिजेल र मट्टीतेलको मूल्य पनि हालसम्मकै उच्च हो । ‘कच्चा तेलको मूल्यसँगै डलर पनि बलियो भएको छ,’ निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘यही कारणले मूल्य निरन्तर बढेको छ । निगम मूल्य बढाउन बाध्य छ ।’
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल प्रतिब्यारेल बढेर ९० डलरसम्म पुगेकाले यहाँ पनि मूल्य बढेको उनले बताए । यद्यपि मूल्य बढ्नुको प्रमुख कारण कच्चा तेल मात्रै नभई डलरको विनिमय दर रहेको निगमले जनाएको छ ।
निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोल २०७० सालको भन्दा प्रतिलिटर २ रुपैयाँ मात्रै महँगो भएको बताए । ‘अहिले क्रुड आयल प्रतिब्यारेल ९० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल १ सय डलरसम्म पुग्ने प्रक्षेपण
भइरहेको छ,’ उनले भने, ‘समयमै मूल्य समायोजन नहुँदा निगम डुब्ने अवस्था पुगेको छ । ऋण लिएर इन्धनको भुक्तानी गर्नुपर्ने बाध्यता भएको छ ।’
आईओसीले मंगलबार पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ९२ पैसा, डिजेलमा ७ रुपैयाँ २४ पैसा, मट्टीतेलमा ८ रुपैयाँ ८० पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ४८ पैसा बढेर आएको उनले बताए । मूल्य समायोजन हुँदा पनि निगमलाई १५ दिनमा २ अर्ब २३ करोड
रुपैयाँ नोक्सान रहेको दाबी उनको छ । ‘मट्टीतेल र हवाई इन्धनबाहेक १५ दिनको अवधिमा पेट्रोलमा ४३ करोड, डिजेलमा १ अर्ब १ करोड, ग्यासमा १ अर्ब नोक्सान छ,’ उनले भने, ‘विनिमय दरका कारण पनि निगमलाई धेरै नोक्सान भयो ।’
२०७० फागुनमा पेट्रोल १ सय ४० प्रतिलिटर हुँदा कच्चा तेल प्रतिब्यारेल १ सय ८ डलर थियो । तर, डलरको विनिमय दर नेपाली ९८ रुपैयाँ मात्रै थियो । अहिले कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलर पुगेको छ ।
तर, डलरको भाउ बढेर १ सय १९ रुपैयाँ ९७ पैसा पुगेको छ । यही कारणले पनि इन्धनको मूल्य बढेको निगमले जनाएको छ । इन्धनको मूल्य बढिरहँदा प्रत्यक्ष मर्का उपभोक्तालाई पर्छ । इन्धनको मूल्य बढेसँगै व्यवसायीले ढुवानी भाडा बढाउँछन् ।
ढुवानी र सार्वजनिक यातायातको भाडा बढेसँगै खाद्यान्नलगायत अन्य वस्तुको पनि मूल्य बढ्ने सम्भावना उच्च हुन्छ । इन्धनमा लाग्ने करको दरले पनि भाउ घट्न नसकेको हो । निगमको तथ्यांकअनुसार आईओसीबाट ८४ रुपैयाँ ३२ पैसामा खरिद गरेको पेट्रोलमा ५८.४८ रुपैयाँ कर लाग्छ ।
त्यस्तै ८५ रुपैयाँ ४२ पैसामा खरिद गरिने डिजेलमा ४१ रुपैयाँ १६ पैसा कर लाग्छ । त्यसमा निगमको खर्च, ढुवानी भाडा, पेट्रोलियम विक्रेता खर्च/मुनाफासहित जोडेर बिक्री मूल्य तय हुन्छ । पटक–पटक कर थोपरिँदा उपभोक्तालाई थप भार परेको छ ।
यसमध्ये पनि १५ रुपैयाँ कर कोभिड कालमै मात्रै बढाइएको निगमका पूर्वकार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।विविध शीर्षकमा थपिएको कर घटाएर सर्वसाधारणलाई राहत दिनुपर्ने उनले बताए ।
‘तत्काल राहत दिन प्रतिलिटर १५ रुपैयाँ कर घटाउनुपर्छ । बढेको मूल्य समायोजनको विकल्प पनि छैन,’ उनले भने, ‘एक वर्षको अवधिमा इन्धनको मूल्य ३० रुपैयाँ बढ्दा त्यसमा ५ रुपैयाँ कर नै छ । सरकारी कर पनि बढेको छ ।
त्यसलाई पनि मिलाउन आवश्यक छ ।’ यस्तै, ग्यासमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) पनि हटाउनुपर्ने उनले बताए । हाल प्रतिसिलिन्डर ग्यासमा २ सय ५० रुपैयाँ भ्याट लाग्छ ।
निगमलाई सर्वाधिक नोक्सानी एलपी ग्यासमा भइरहेको छ । २०१६ यता ग्यासबाट मात्रै निगमलाई ३० अर्ब रुपैयाँभन्दा बढी नोक्सान भइसकेको छ ।
ग्यासमा पनि स्वचालित मूल्य प्रणाली लागू भए केही हदसम्म राहत हुने निगमका अधिकारीहरू बताउँछन् । तर, ग्यास हरेकका भान्सासँग जोडिएकाले स्वचालित मूल्यमा लैजान सरकार पन्छिएको छ ।