भैरहवा –
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आउँदो बुद्ध जयन्तीभन्दा अगावै निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने तयारी भइरहेको बताएका छन् ।
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको प्रगति विवरण लिँदै शनिबार मन्त्री आलेले विमानस्थल संचालनमा अब
कुनै पनि खालको बिलम्ब नहुने गरी योजना बनाइएको बताएका हुन् । तर मौसम प्रतिकूलताका कारण पछिल्लो समयमा परीक्षण उडानमा ढिलाइ भइरहेको उनको भनाइ छ ।
उनको साथमा, मन्त्रालयका सचिव, नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक लगायतको टोली स्थलगत अनुगमनमा पुगेको थियो ।
‘यो विमानस्थलप्रति विश्वकै ध्यानाकृष्ट भएकाले अब कुनै पनि खालको बिलम्ब हुनु हुँदैन’, मन्त्री आलेले भने, ‘बुद्ध जयन्ती अगावै यस विमानस्थलमा ठूल्ठूला
विमान उडेर संचालन भएको देख्न पाइयोस् । म यसका लागि यहींबाटै निर्देशन दिन्छु, कुनै पनि हालतमा बुद्ध जयन्तीभन्दा अगावै अन्तर्राष्ट्रिय उडान हुनु पर्छ ।’
यो विमानस्थल संचालनमा आउनासाथ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल विद्यमान रहेको दुई/तीन घण्टा सम्मको एयर ट्राफिकको
सम’स्या समाधान हुने भएकाले पनि जतिसक्दो चाडो संचालनमा ल्याउन जरुरी भएको उनको भनाइ थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त
महानिर्देशक प्रेमनाथ ठाकुरले मौसमले साथ अनुकूल बन्दै गएको खण्डमा ढिलोमा पनि परीक्षण उडानका लागि थाइल्याण्डदेखि आउँदो फेब्रुअरी २१
(फागुन ९ गते) का दिन विमान नेपाल अवतरण हुने गरी कार्यतालिका तयार पारिएको जनाए । यदि संभव भएमा त्यो भन्दा अगाडि पनि विमान नेपाल आउन सक्ने उनले बताए ।
‘आउँदो बुद्ध जयन्तीसम्ममा यो विमानस्थल संचालनमा आइसक्ने छ’, ठाकुरले भने, ‘बुद्ध जयन्तीमा लुम्बिनी आउने विदेशी पाहुनाले चार्टर्ड फ्लाइट ल्याउन सक्ने गरी निर्माण कार्य अघि बढाइएको छ ।’
परीक्षण उडानका लागि विमानसहित मौसम, संचार र विमानको दिशा पत्ता लगाउने लगायतका निर्माण कार्यको ठेक्का लिएको थाइल्याण्डको एरो थाइ
कम्पनीका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले, एरो थाइ कम्पनीका तर्फबाट विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउन्ड चेकको कार्य जारी रहेको बताए ।
नेपालको विगत तीन वर्षको मौसमको अवस्थालाई विमानस्थलमा परीक्षण उडान संचालन तयारीका लागि आइपुगेको थाइल्यान्डको टिमले अध्ययन
गरिरहेको र फेब्रुअरीको दोस्रो सातादेखि मौसम सुधार आउने देखिएकाले २१ तरिखमा परीक्षणको विमान ल्याउने तयारी गरिएको उनले बताए ।