काठमाडौं –
पाकिस्तानले भारतसँगको यु द्ध का लागि चीनले एसएच–१५ हावित्जर किनेको छ ।
हावित्जरलाई मुख्य रूपमा पहाडी क्षेत्रहरूमा भारत सीमामा तैनाथ गरिनेछ । चीनमा बनेको यस हतियारले १५५ एमएमको गोला हान्न सक्छ ।
यसलाई ट्रकको चेसिसमा जडान गरिएको छ । सजिलैसँग कम समय लगाएर यसलाई एक ठाउँबाट अर्को ठाउँसम्म लग्न सकिन्छ ।
पाकिस्तानले चीनसँग सन् २०१९ मा २३६ वटा एसएच-१५ १५५ एमएम हावित्जर किन्न सम्झौता गरेको थियो ।
त्यसमध्ये केही युनिट पाकिस्तानलाई चीनले दिएको छ । सन् २०१८ मा यो हावित्जर कराचीमा आयोजित डिफेन्स एक्सपोमा देखिएको थियो ।
पाकिस्तानले हावित्जरको परीक्षण कराचीको पहाडी क्षेत्रमा गरेको थियो । यसको रेन्ज ५३ किलोमिटर रहेको बताइन्छ ।
चीनको सरकारी हतियार कम्पनी नर्दन इन्डस्ट्रीज कर्पोरेसनले यो हतियार बनाएको हो । कम्पनीका अनुसार, यसलाई पहाडी क्षेत्र र दलदलमा समेत सजिलै उपयोग गर्न सकिन्छ ।
कतिपय रिपोर्टमा यसले आणविक गोला समेत प्रहार गर्न सक्ने दाबी गरिएको छ । तर विश्वसनीय स्रोतबाट यसको पुष्टि हुन सकेको छैन ।
पाकिस्तानले सन् १९८४ देखि नै सानो आकारका आणविक हतियार बनाउन शुरू गरेको हो ।
पाकिस्तानले चीनसँग भीटी–४ ट्यांक पनि किनेको छ । सन् २०२१ को अप्रिलबाट चीनले पाकिस्तानलाई यसको डेलिभरी शुरू गरेको थियो । तर अहिलेसम्म कतिवटा युनिट सुम्पिइसकेको हो भन्ने जानकारी छैन ।
पाकिस्तानभन्दा अघि थाइल्यान्ड र नाइजेरियाले चीनसँग यो ट्यांक किनेका थिए । गत सेप्टेम्बर महिनामा पाकिस्तानी सेनाले टिल्ला फील्ड फायरिङ रेन्जमा यस ट्यांकको परीक्षण गरेको थियो ।





















