काठमाडौं –
प्रदेश १ मा एमालेका राष्ट्रियसभा उम्मेदवार सोनम ग्याल्जेन शेर्पा अप्रत्याशित रूपमा विजयी भए । चुनावको नतिजाअनुसार एमालेका
ग्याल्जेनले गठबन्धनका दुई प्रदेश सांसदको भोट तान्न सफल भएका छन् भने स्थानीय तहका ११ जनप्रतिनिधिले उनलाई मतदान गरेका छन् ।
एमालेका कूल ४० प्रदेश सांसद रहेकामा ग्याल्जेनले ४२ जना सांसदको मत पाए । त्यस्तै स्थानीय तहका गठबन्धनका ११ जनाको १९८ मतभारसमेत गरी कूल २९४ मतभार गठबन्धनबाट बटुलेपछि उनी विजयी भएका हुन् ।
यस्तै राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
बुधबार भएको मतगणनामा नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर र भुवन र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् । आलेले ३,०९६, सुनारले ३०८४ र पन्तले ३०८४ मतभार पाएका छन् ।
यस्तै प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भएका छन् ।
बुधबार नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको हो ।
एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । तर गोला प्रथा गर्दा बस्नेत निर्वाचित भए ।
बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरे । बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरेका थिए ।
राप्रपाका अमरबहादुर थापाले प्रदेशमा २ र स्थानीय तहमा ४ मत प्राप्त गरे । जसकाे मतभार १६८ छ ।