काठमाडौं –
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिएको हो ।
पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ ।
विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो । यसका लागि ५० हजारभन्दा बढी जनशक्ति खटाइएको थियो ।
जनगणनाबाट सबैभन्दा बढी परिवार मधेश प्रदेशमा पाइएको छ भने सबैभन्दा कम परिवार गण्डकी प्रदेशमा छन् । यस्तै, यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि गिरावट आएको छ । २०६८ सालमा नेपालमा एउटा परिवारमा ५ जना बस्थे । अहिले प्रतिपरिवार ४.३२ जना बस्न थालेका छन् ।
नेपालको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेका छन् । यसपछि बागमती प्रदेशमा सबैभन्दा
बढी जनसंख्या रहेको यो वर्षको जनगणनाले देखाएको छ । मधेश प्रदेशमा ६१ लाखभन्दा बढी, बागमतीमा ६० लाख जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले २१ लाख ६९ हजार ४७८ व्यक्तिहरु अक्सर विदेशमा बसोवास गरिरहेको देखाएको छ ।
परिवारमा अनुपस्थित रहेर धेरैजसो समय विदेशमा बस्ने पुरुषको संख्या १७ लाख ६३ हजार ३१५ छ । जुन विदेशमा अक्सर बस्ने नेपालीको कुल संख्याको ८१.२८ प्रतिशत हो । विदेशमा अक्सर बस्ने महिलाको संख्या ४ लाख ६ हजार १०३ (१८.७२ प्रतिशत) छ ।
दश वर्षअघि २०६८ सालमा विदेशमा अक्सर बसोवास गर्नेहरूको संख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरूष १६ लाख ८४हजार ०२९ (८७.६४ प्रतिशत) र महिला २ लाख ३७ हजार ४०० (१२.३६ प्रतिशत) थिए ।
२०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
भौगोलिक क्षेत्रअनुसार तराईबाट १० लाख ६५हजार ९६९, पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट १ लाख १८ हजार ६१३ रजनसंख्या विदेशमा छन् ।